कोअपरेटिभ म्यानेजर्स क्लबमा मीलन ढकाल

पोखरा, १२ चैत /कास्की जिल्लाका सहकारी संस्थामा कार्यरत प्रवन्धकहरु संगठित भएका छन् । प्रबन्धकहरुको शुक्रबार पोखरामा भएको भेलाले मीलन ढकालको संयोजकत्वमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्की गठन गरेको छ । पोखरा रोयल सहकारी संस्थाका प्रवन्धक ढकालको संयोजकत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

सदस्यमा अनुराग श्रेष्ठ, दुध काशी गुरुङ, कमल मोहन आचार्य, पशुपति अधिकारी, डम्बर सिंह बस्नेत, जगन्नाथ लामिछाने, द्रौपदी गुरुङ, र बोधराज रेग्मी छन् । कार्यक्रममा अवधारणा पत्र पेश गर्दै संयोजक ढकालले पेशागत हकहितका लागि क्लब स्थापना गरिएको बताए । ‘सदस्यहरुको चाहना र आवश्यकता अनुसार गुणस्तरीय वस्तु तथा सेवाहरु उपलव्ध गराउन कुशल व्यवस्थापनको माध्यमबाट सहकारीको संस्थागत विकास, सुशासनको प्रत्याभूति दिनुपर्नेछ,’ उनले भने, ‘व्यावसायीस्करण र सवल तथा सुरक्षित सहकारी अभ्यासको लागि सहकारीहरुमा कार्यरत व्यवस्थापकहरुको ज्ञान, शिप, अनुभव, क्षमता विकासको साझा थलोको रुपमा विकास गर्न क्लब आवश्यक भएको हो ।’

कुनैपनि युनियनको रुपमा नभई क्वालिटी सर्कलको रुपमा क्लब अगाडि बढ्ने ढकालले बताए । भेलाका प्रमुख व्यक्तित्व निर्वाचन संयोजक जिल्ला सहकारी संघ लि. कास्कीका वरिष्ठ प्रवन्धक भोजराज घिमिरेले ऐतिहासिक कामको थालनी भएको र आगामी दिनमा यसले संस्थामा कार्यरत प्रवन्धकहरुको क्षमता वृद्धि भई सवल र गुणस्तरीय सहकारी संस्था बन्ने विश्वास व्यक्त गरे ।

नेफ्स्कुन फिल्ड पोखरा कार्यालयका इन्चार्ज दीनेश भण्डारीले सहकारी संस्थाका प्रवन्धकहरु एक आपसमा भेट भई आफ्ना संस्थामा भएका समस्याहरु समाधान गर्न सहयोग पुग्ने धारणा राखे । सहभागीको तर्फबाट डम्बर सिंह बस्नेतले क्लबलाई साझा थलो बनाइनुपर्ने बताए । भेलामा कमलमोहन आचार्यले स्वागत मन्तव्य राखेका थिए अनुराग श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

शुक्रबार नै बसेको क्लबको पहिलो बैठकले राष्ट्रिय सहकारी संघ नेपालका सञ्चालक प्रभा कोइराला, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ लि. कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदिप ढकाल र जिल्ला सहकारी संघ लि. का वरिष्ठ प्रवन्धक भोजराज घिमिरेलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

कमेन्टहरु
Loading...