पोखरामा सोमबार देखी लोटस चाउमिन उद्योग संचालन

पोखरा, २८ साउन /पोखराको पृथ्वीचोकमा अवस्थित बाँस्तोला कम्प्लेक्समा लोटस चाउमिन उद्योग संचालनमा आएको छ । झण्डैं २० लाखको लागतमा चीनबाट आधुनिक मेसिन भित्र्याई युवा उद्यमी कमल सुवेदीले उद्योग संचालनमा ल्याएका हुन् ।

सोमबार एक कार्यक्रमका बीच युवा नेपालका केन्द्रीय उपाध्यक्ष एवं बाँस्तोला कम्प्लेक्सका संचालन माधव बाँस्तोलाले उद्योगको उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्तोलाले युवा उत्पादनमा अग्रसर हुनुले मुलुक समृद्धतर्फ लम्किएको संकेत भएको बताए ।

‘युवाहरुलाई स्वरोजगार उन्मुख बनाउनुको विकल्प छैन्,’ उनले भने, ‘मुलुक भित्रै उत्पादनमूलक क्षेत्रमा काम गर्छु भन्नेलाई राज्यले संरक्षण गर्नुपर्छ ।’ सबै राजनीतिक गतिरोध अन्त्य भएर मुलुकले दुई तिहाई सहितको शक्तिशाली सरकार पाएकोले युवाहरुलाई हतोत्साही नहुन उनले आग्रह गरे ।

राज्यले उद्योगधन्दा, कलकारखाना, कृषिजन्य उत्पादनसँग युवाको पौरख जोड्न सके मुलुक समृद्ध बन्न समय नलाग्ने उनको भनाइ थियो ।
उद्योगका संचालक सुवेदीले चाउमिन उद्योग संचालन गर्ने क्रममा राज्यको अस्पष्ट कर नीतिका कारण हैरानी भोग्नु परेको गुनासो पोखे ।

उनले उद्योगलाई आगामि दिनमा थप विस्तार गरी नेपकिन पेपर र ससेस उत्पादन गर्ने योजना रहेको सुनाए । उद्योगबाट प्रतिदिन सरदर १ हजार १ सय केजी चाउमिन उत्पादन गर्ने लक्ष्य राखेको उनले बताए ।

कार्यक्रममा सहभागि युवा संघका केन्द्रीय सदस्य एवं कम्प्लेक्सका संचालक युवा व्यवसायी ओमराज बाँस्तोलाले उद्योगको उत्तरोत्तर प्रगतिको कामना गरे ।

हाल उद्योगबाट प्रत्यक्ष रुपमा ५ जनाले रोजगारी पाउनेछन् भने सम्पूर्ण व्यवस्थापन विक्की सुवेदी गर्ने छन् । उद्योगले सुभारम्भको समय पारेर १० केजी चाउमिन खरिद गर्नेलाई १ केजी निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।

कमेन्टहरु
Loading...