लेखनाथ उद्योग वाणिज्य संघको चुनाव, अधिकारी र ढकाल अध्यक्षमा आकांक्षी (अरुको को)

पोखरा, २३ साउन / लेखनाथ उद्योग वाणिज्य संघले नयाँ नेतृत्वका लागि भदौको २१ निर्वाचन हुने छ । संघको नेतृत्व गर्न बरिष्ठ उपाध्यक्ष बलराम ढकाल र महासचिव भरत अधिकारी अध्यक्षको उम्मेदार बन्ने निश्चित छ । लेखनाथ उद्योग वाणिज्य संघको १२ औं अधिवेशनबाट नेतृत्व लिन ढकाल र अधिकारी आफनै लबिङमा छन् ।

वाणिज्य संघका पुर्वजहरु भने सहमतिबाटै अगाडि बढ्नुपर्नेमा प्रयास गरिरहेका छन् । यद्यपी दुवैले आफनै एजेण्डालाई उठाईरहेका छन् । काम र कर्तव्य एवं क्षमताको आधारमा नेतृत्व लिनुपर्छ भन्ने मान्यता अधिकारीले राखेका छन् । ‘काम र क्षमताको आधारमा नेतृत्व गर्नुपर्छ ।’ उनको भनाई थियो । संघको सबैभन्दा चुनौतिको विषय नै वर्षेनी आयोजना हुने महोत्सवलाई परिष्कृत गर्नुपर्ने देखिएको छ ।

आफनै व्यवसायलाई आघात हुने गरी महोत्सव सञ्चालन गर्न नहुने जिकिर अध्यक्षका प्रत्यासी अधिकारीले सुनाए । ‘महोत्सव परिष्कृत गर्नुपर्ने चुनौति छ । प्रदर्शनको लागि मात्रै महोत्सव उपयोग गर्ने कि विक्री वितरण गरी नाफा खाने भन्नेमा छ । बाहिरबाट सामान ल्याएर बेचेर नाफा खाँदैमा स्थानीय व्यवसायीको प्रवद्र्धन हुदैन् ।’ उनले भने–‘यँहीको उत्पादनलाई प्रवद्र्धन गर्न सक्ने गरी महोत्सव सञ्चालन गरिनुपर्छ ।

अहिलेको चुनौति नै त्यही हो ।’ उनले स्थानीय कृषिजन्य उत्पादनको प्रवद्र्धन गर्न यसै वर्षभित्र कृषि उपजबजार स्थल सञ्चालनमा ल्याउने दावी गरे । १ करोड ८१ लाखको लागतमा विभिन्न ३० वटास्टल निर्माण गरिने छ । ८ रोपनी क्षेत्रफलमा कृषिको लागि २८ र रेष्टुरेण्टको लागि २ वटा स्टल बनाईने छ । एक रोपनी क्षेत्रफल कृषि सहकारीलाई उपलब्ध गराइएको समेत उनले सुनाए ।

अध्यक्षका प्रत्यासी ढकालले भने व्यवसायिक हकहितको प्रवद्र्धन नै आफनो चुनावी एजेण्डा भएको उदघोष गरे । उनले व्यवसायीलाई आयकर, मूल्यअभिबृद्धि कर लगायत विभिन्न समस्यालाई पहिचान गरी त्यसको निराकरण गर्न प्रशिक्षण गराउनेदेखि उद्योग वाणिज्य संघमा हेल्प डेष्क स्थापना गरिने बताए ।

बस्तु उत्पादनमा भएको लगानीको लागत निकाल्न भएको कठिनाईले व्यवसायी बीच अस्वस्थ्य प्रतिस्पर्धा बढेको भन्दै उनले त्यस्तो अस्वस्थ्य प्रतिस्पर्धा घटाउन आवश्यकता अनुसार व्यवसायीलाई ज्ञान दिदैं जानुपर्नेमा जोड दिए ।

उनले पर्यटन प्रवद्र्धन गर्न ताल तलैयाँ र रमणीय दृष्यावलोकन गर्ने भ्यु प्वाईन्टको सरक्षण गर्ने तर्फ व्यवसायीको अग्रसरता हुनुपर्ने बताए । ‘पर्यटन प्रवद्र्धनको लागि पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्छ । अन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनले नयाँ पर्यटन व्यवसायी जन्मन सक्छन् ।’ उनको भनाई थियो ।

ढकाल बनाए प्यानल

अध्यक्षका प्रत्यासी बर्तमान बरिष्ठ उपाध्यक्ष बलराम ढकालले चुनावी सरगर्मी बढ्दै गएपछि आफनो प्यानल तयार पारेका छन् । उनले संघकै पदाधिकारी तथा सदस्यहरुको बाहुल्यता रहने गरी आफ्नो प्यानल बनाएका छन् । ढकालले बरिष्ठ उपाध्यक्षमा छत्रधर आत्रेलाई अघि सारेका छन् ।

प्रथम उपाध्यक्षमा विनोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा राजेन्द्र ओझा, महासचिवमा गोपीचन्द्र बास्तोला, उपमहासचिवमा उपेन्द्रराज सुवेदी(राजु)तथा कोषाध्यक्षमा जानुका पराजुलीको उमेदवारी रहने गरी प्यानल बनाएका हुन् । पदाधिकारीमा उपेन्द्र सुवेदी र जानुका पराजुली यसअघि कार्यसमितिका सदस्य रहेका थिए । वर्तमान कार्यसमितिमा आत्रेय प्रथम उपाध्यक्ष र श्रेष्ठ द्धितिय उपाध्यक्ष हुन्। ।

अघिल्लो पटक एकै समूहमा रहेर कार्यसमितिमा वर्तमान महासचिव भरत अधिकारीले असन्तुष्टी जनाउँदै बाहिरिएपछि कोषाध्यक्ष रहेका राजेन्द्र ओझालाई एकैचोटी द्धितिय उपाध्यक्षको उम्मेदवारीमा फड्को मार्ने अवसर जुरेको हो । अधिकारी पनि रहेको भए यो समूहले ओझालाई उपमहासचिवमा उठाउने तयारी गरेको थियो । यसैगरी सदस्यमा पुरानै अनुहार रामजी पौडेल, शिव भण्डारी, भिमवहादुर वि.क, भरत ओझा, शैलेन्द्र मोहन भट्टराई, मेनुका श्रेष्ठ दोहोरिने सम्भावना छ ।

नयाँ अनुहारका रुपमा युवा व्यवसायी धु्रबबावु भट्टराईलाई ढकाल समूहले सदस्यमा अघि सारेको छ । बर्तमान कार्यसमितिकै सदस्य धिरजकुमार श्रेष्ठले यो समूहबाट मौका पाएका छैनन्। उनी यसअघिको निर्वाचनमा बसन्तमोहन भट्टराई प्यानलबाट चुनाव लडेर विजयी भएका थिए । दुई महिला सदस्य, संस्थागत सदस्यमा भने कस कसको उमेदवारी रहने अझै स्पष्ट गरिएको छैन । ढकाल समूह बिगतमा वामपन्थी र काग्रेस निकट व्यवसायीको सहकार्यको निरन्तरता हो । संस्थागत सदस्यमा हार्डवयर एशोसियशनका बरिष्ठ सल्लाहकार सुदेव गुरुङ्गले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वर्तमान संस्थापन पक्षबाट विद्रोह गरी अध्यक्षमा उम्मेदवारी दिएका भरतकुमार अधिकारीले अग्रज एवं काग्रेस निकटका केही व्यवसायीसँगको छलफललाई तिव्रता दिएका छन् । उनले छिट्टै आफ्नो प्यानल घोषणा गर्ने योजनामा छन् । अधिकारीले विगतमा अवसर नपाएका र पुराना केही व्यवसायीलाई समेट्दै प्यानल घोषणा गर्ने तयारी गरिरहेको उद्योगी व्यवसायी बताउँछन् ।

अधिवेशनमा महासचिवमा ऋषिराम जमरट्टेलले यसअघि नै उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । एशोसियट सदस्यमा भने संस्थापन पक्षबाट विक्रम कर्माचार्य पक्का जस्तै छन् । अधिकारी सहितको प्यानल खडा हुनेभएपछि संघको चुनाव थप रोचक बनेको छ । वाणिज्य संघमा हाल १३ सय १२ सदस्य छन् ।

कमेन्टहरु
Loading...