१५ औं संस्करणको लेखनाथ महोत्सवको तयारी चल्दै

पोखरा, १९ मंसिर/ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुसको पहिलो सातादेखि १५ औं सस्करणको महोत्सवको तयारीमा तिब्र पारेको छ । उद्देश्य नै औद्योगिक उत्पादन तथा हस्तकलाका बस्तुहरको बजार प्रवद्र्धन रहेको छ । स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरको प्रवद्र्धन, उद्यमशिलता र प्रविधि हस्तान्तरणलाई समेत मेलाको उद्देश्यमा समेटिएको छ ।

विभिन्न इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बनाएको शैक्षिक प्रदर्शनीलाई समावेश गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका उपमहासचिव गोपीचन्द्र बास्तोलाले जानकारी दिए । महोत्सवमा पहिलो पटक आईटी सम्बन्धि प्रदर्शनी समेत गरिने छ । युवा लक्षित कार्यक्रमको लागि लाईभ म्युजिक कन्सर्टलाई पनि यसै वर्षदेखि समावेश गरिएको संघले उल्लेख गरेको छ ।

महोत्सवले आफनै ब्राण्ड बनाएको गण्डकी तारा (गायन) प्रतियोगितालाई अझ भब्य बनाउने अभियानमा जुटेको छ । विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता, मातशक्तिको सम्मानका लागि रत्यौली गीत प्रतियोगिता मनोरन्जनका पाटोमा छन् । कविको जमघट गर्ने उद्देश्यलाई आत्मसात गर्दै कविता प्रतियोगितालाई पनि स्थान दिईएको छ ।

गण्डकी ताराले ५० हजार, उपविजेताले ३५ र तेस्रो हुनेले २० हजार नगदराशीको पुरस्कार थाप्ने छन् । सान्त्वनाको भागमा भने १० हजार रुपैयाँ पर्ने छ । रत्यौली तर्फको विजेतालाई ३०, २२ र १५ हजार र सान्त्वनालाई ७ हजार ५ सय रुपैयामा प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । महोत्सव गर्नकै लागि लेखनाथ उद्योग वाणिज्य संघले व्यक्तिगत जग्गा भाडामा लिएर आवश्यक पुर्वाधार तयार पारेको छ ।

बजार उन्मुख हुदैं गएको लेखनाथ क्षेत्रमा दशदिने महोत्सवबाट १५ करोड भन्दा बढीको आर्थिक कारोबार गर्ने महत्वकांक्षा लेखनाथ उद्योग वाणिज्य संघले बोकेको छ । ९० लाख रुपैयाँ खर्चको अपेक्षा गर्दै ३५ लाख रुपैयाँ बचत गरेर कृषि उपज खरीद विक्री केन्द्रको निर्माण र प्रदर्शनीस्थाको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गर्ने शीर्षकमा लेखनाथ संघले बुदाँगत रुपमा उल्लेख गरेको छ ।

३ लाख दर्शकले हेर्ने अनुमान गरिएको छ । महोत्सवस्थलमा ३५० स्टल राखिने छ । कृषि, शैक्षिक, सूचना प्रविधि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गामेन्ट, डेरी र फुड फेष्टिबल स्टलमा रहने छन् । १३३ सदस्यीय कार्यसम्पादन समिति, ८ सदस्यीय निदेशक समिति र विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सव तालचोकस्थित भाडामा लिइएको जग्गामा आयोजना गरिने छ ।

कमेन्टहरु
Loading...