‘पोखरा आउँदा लेखनाथलाई नबिर्सनुस्’

पोखरा, १९ चैत /लेखनाथका पर्यटन व्यवसायीहरुले पोखरा भ्रमण गर्दा लेखनाथलाई नबिर्सन आग्रह गरेका छन् । ‘गन्तव्य बेगनास’ अभियान लिएर धरानहुँदै पूर्वको ट्रान्जिट प्वाइन्ट झापाको बिर्तामोड आइपुगेका लेखनाथका पर्यटन व्यवसायीहरुले पोखरा भ्रमण गर्दा लेखनाथका पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्न नबिर्सनका लागि आग्रह गरेका हुन् ।

बेगनास होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथबाट बिर्तामोड आएका पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गर्दै एसोसियसनका निवर्तमान अध्यक्ष तथा भ्रमण टोली संयोजक दामोदरभक्त थापाले भने,‘पोखरा आउने जोकोहिपनि रुपा, बेगनास नपुगी फर्किए उनीहरुको भ्रमण पूरा हुँदैन, भ्रमण अधुरो र अपुरो हुन्छ ।’ उनले पोखरा नजिकै पर्ने लेखनाथ सात तालको वाटीका सहर भएकाले यसको भ्रमण सबै पर्यटकको लागि आवश्यक हुने बताए ।

निवर्तमान अध्यक्ष थापाले आम पर्यटकले फेवाताल किनारलाई मात्र लेकसाईड बुझ्ने गरेको गुनासो गर्दै उनले बेगनास र रुपाताल किनार पनि लेकसाइड नै भएको बताए । उनले भने,‘हाम्रो पोखरामा आउने आम पर्यटकको बुझाई लेकसाइड भनेको फेवाताल किनार मात्रै भन्ने छ, तर रुपा र बेगनासलगायतका ताल किनारहरुपनि लेकसाइड नै हुन्, ति क्षेत्रलाईपनि पर्यटकीय हब बनाउनका लागि हामी प्रचारप्रसारका लागि आएका हौं ।’

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलियाले पोखराबाट नजिक भएर पनि लेखनाथका बेगनास, रुपाताललगायतका क्षेत्रका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेको बताए । उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरु बेगनास ताल, रुपाताललगायतका क्षेत्रको प्रवद्र्धनका लागि पर्यटन वोर्डले सघाएको उल्लेख गरे । उनले धरान र झापाका ब्यवसायी र सञ्चारकर्मीलाई पोखरा बेगनास र बन्दीपुरको भ्रमणको निम्तो दिए ।

धनगढी विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले नागरिक उड्डयन प्राधिकरण, पर्यटन बोर्ड र पर्यटन व्यवसायी बीचको सम्बन्ध नङ र मासुकोजस्तै अन्र्तरसम्बन्धित भएको बताए । उनले झापामा रहेको चन्द्रगढी विमानस्थल पूर्वको प्रवेशद्धार रहेको बताउँदै यसबाट पोखरेली पर्यटन व्यवसायीले फाइदा लिनसक्ने बताए ।

उनले बंगलादेशको फूलबारी बन्दरगाह, भूटानको फुस्लिङ, सिक्किम, दार्जिलिङलगायतका क्षेत्रका पर्यटकहरु भmापाहुँदै पोखरा जाने भएकाले चाँडै नै झापा—पोखरा उडान शुरु गर्ने तयारीमा रहेको बताए । उनले भने,‘अहिले हप्ता वा पन्द्ध्र दिनमा हुनसक्छ, तर पछि यात्रुको चाप बढ्दै गएपछि दैनिक पनि बनाउन सकिन्छ ।’ यसका लागि एयरलाइन्स र ट्राभल एजेन्सीले सघाउनुपर्ने उनको भनाई छ ।

कार्यक्रमको अध्यक्षता गरेको बेगनास होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बेगनास र रुपाताल किनारलाई लेकसाइडको रुपमा चिनाउनका लागि आफूहरु प्रचारप्रसार गर्दै धरानहुँदै बिर्तामोडसम्म आइपुगेको बताए । उनले बेगनास क्षेत्रमा हालै पोखरा जुलोजिकल पार्क निर्माण भइरहेको भन्दै योपनि पर्यटकीय आकर्षणको रुपमा रहेकाले पोखरा आउँदा बेगनास, रुपालगायतका क्षेत्र घुम्न नबिर्सन आग्रह गरे ।

यसैबीच, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले झापा होटल एसोसियसनसँग पनि सहकार्यको प्रस्ताव गरेको छ । कार्यक्रममा लेखनाथ एसोसियसनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले झापा होटल एसोसियसनसँग पर्यटनका क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावलाई झापा होटल एसोसियसनले सकारात्मक भनेको छ । यसअघी यस्तै प्रस्ताव धरानसँगपनि लेखनाथ होटल एसोसियसनले गरेको थियो ।

लेखनाथले राखेको दुबै प्रस्तावमा आपसमा अनुभव साटासाट गर्ने, हरेक वर्ष दुवै सहरबाट एक अर्काको क्षेत्रमा भ्रमण गर्ने, व्यवसायीक विकास र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने, बिर्तामोड र धरान पुगेका पर्यटकलाई लेखनाथ र लेखनाथ आएका पर्यटकलाई बिर्तामोड र धरान जान सिफारिस गर्ने, दुवै ठाउँका आन्तरिक पर्यटकलाई एक अर्काकोमा जाँदा १५ प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ ।

झापा होटल एसोसियसनका अध्यक्ष भोला उप्रेतीले लेखनाथको प्रस्ताव सकारात्मक भएको बताउँदै यसबारेमा औपचारिक रुपमा निर्णय गर्ने बताए । उनले छुटबाहेकका अन्य प्रस्ताव पारित हुने बताउँदै छुटको बारेमा सम्पूर्ण व्यवसायीसँग छलफल गरेर निर्णय गर्ने बताए ।

पूर्वाञ्चल भ्रमण टोलीमा होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष तथा भ्रमण टोली संयोजक दामोदरभक्त थापा, एसोसियसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कोषाध्यक्ष निलकुमारी थापामगरलगायतका होटल तथा रेष्टुरेण्ट व्यवसायी, पचभैया होमस्टेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता छ ।

कमेन्टहरु
Loading...