लेखनाथको भण्डारढीकमा कात्तिक अन्तिम साता आर्दश महोत्सव

पोखरा, १६ कात्तिक / पोखरा महानगरपालिका लेखनाथको भण्डारढीकमा महोत्सवको कात्तिक अन्तिम साता लेखनाथ आर्दश महोत्सव हुने भएको छ । आदर्श युवा क्लबको आयोजनामा भण्डारढीक खेल मैदानमा कात्तिक ३० गतेदेखि ‘आदर्श महोत्सव २०७५’ हुने शुक्रबार पोखरामा आयोजित कार्यक्रममा जानकारी दिएको छ । महोत्सव मंसिर ९ गते सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा २६८ स्टल राखेर आर्थिक कारोबर गराउने उद्देश्य समेत क्लबको छ । दैनिक एक करोडको कारोबारको अपेक्षा गर्दै १२ लाख रुपैयाँ मुनाफा कमाउने उद्देश्य रहेको पत्रकार सम्मेलन क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । लेखनाथ क्षेत्रमा लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सव गर्दै आएको छ ।

पोखरामा पनि पोखरा उद्योग वाणिज्य संघको पोखरा एक्स्पो र युनाईटेड क्लबले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सव सञ्चालन गर्दै आएको छ । ती महोत्सव मंसिरदेखि माघसम्म आयोजना हुदैं आएका छन् । कृषि र रेष्टुरेण्ट बाहेक अन्य विभिन्न व्यापारिक प्रतिष्ठानका स्टल राखिने छ ।

हस्तकला, गार्मेण्ट्स लगायत अन्य स्टल पनि सजाईने उनको भनाई थियो । महोत्सवमा अष्ट्रिचको अवलोकनको अवसर मिलाईने छ । उँटमा सवार गर्ने व्यवस्था समेत महोत्सवमा मिलाईने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । धरहरा समेत बनाईने छ । कलाकारको उपस्थिति सांगीतिक माहौल जमाईने छ ।

राष्ट्रिय कलाकारको जमघटसँगै पप व्याण्डको प्रस्तुत पनि रहने क्लबले जनाएको छ । आदर्श आईडल बन्नेले ३० हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने छ । क्लबले वर्षेनी आयोजना गर्ने फुटबलको लागि आर्थिक संकलन अभियानको पहिलो प्रयास हुने सर्वसाधारणले विश्वास लिएका छन् ।

बचत गर्ने लक्ष्य राखिएको १२ लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने योजना क्लबले बनाएको छ । क्लबले महोत्सवको लागि २२ सदस्यीय मुल आयोजक समिति तथा १०० सदस्यीय महोत्सव निर्देशक समिति र ३१ सदस्यीय महोत्सव सञ्चालन उपसमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...