संरचनाका कारण बजेट कार्यान्वयन चुनौती पुर्ण —मन्त्री गुरुङ

पोखरा, २ असार /प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले प्रदेशको संरचनाका कारण बजेट कार्यान्वयमा चुनौती देखीको बताएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश चारले शनिबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेशका संरचनाका कारण बजेटको ७० प्रतिशत पनि कार्यान्वय हुन कठिन रहेको बताए ।

मन्त्री गुरुङले शुक्रबार प्रदेश ४ सरकारको तर्फबाट आगामी बर्षको लागि २४ अर्व २ करोड ३३ लाखको बजेट सार्वजनिक गरेका थिए । उनले आफुहरुले सके सम्म कार्यान्वयन हुने गरी सानो आकारको बजेट ल्याएको बताए । तर पनि कार्यान्वयनमा चुनौती रहेको उल्लेख गरे । बजेटमध्ये पूँजीगततर्फ १५ अर्व ९० करोड ७८ लाख र चालू तर्फ ६ अर्व ९१ करोड ५५ लाख रुपैयाँ छ ।

पूँजीगतमा ६६ प्रतिशत र चालूतर्फ २९ प्रतिशत तथा ५ प्रतिशत रकम वित्तीय हस्तान्तरण शीर्षकमा छुट्याईएको उनले बताए । वित्तीय हस्तान्तरणमा छुट्टिएको १ अर्व २० करोड रुपैयाँ समानीकरण अनुदान, समपुरक अनुदान र विशेष अनुदानमा खर्च हुनेछ । सरकारले भौतिक पूर्वाधारलाई जोड दिएर बजेट ल्याएको बताए । बजेटमध्ये सबैभन्दा धेरै बजेट सडकमा विनियोजन भएको छ ।

सडकमा मात्रै ३ अर्व २० करोड रुपैयाँ बजेट छ भने दोश्रो प्राथमिकतामा परेको स्वास्थ्यमा १ अर्व ६५ करोड रुपैयाँ छ । कृषि तथा पशु विकास शीर्षकमा १ अर्व ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटनको विकासमा ५५ करोड, उद्योग विकासमा ५० करोड, सिंचाईका लागि ६३ करोड, शिक्षामा ५६ करोड, खानेपानीमा ५२ करोड र होमस्टे पूर्वाधारमा ३० करोड बजेट छुट्याईएको छ ।

हरेक निर्वाचन क्षेत्रमा स्तरीय सडक पु¥याउन २ करोड १० लाखका दरले ७५ करोड ६० लाख रुपैयाँ छ भने सडक सञ्जालमा नजोडिएका क्षेत्रलाई सडकमा जोड्ने मोटरेवल पुल निर्माणका लागि ५१ करोड ८५ लाख रुपैयाँ बजेट छ । प्रदेश गौरवका आयोजनाको रुपमा कोरला–पोखरा र पोखरा–सुस्ता सडकको डिपिआर तयार गरी स्तरोन्नती थाल्न बजेट विनियोजन भएको छ । यस्तै देवघाटदेखि पुट्टार हुँदै केलादीघाट–चापाकोट–राम्दी–सेतिवेणीबाट बेनी जोड्ने सडकका लागि डिपिआर तयार गनृ २ करोड रुपैयाँ छ । हरेक स्थानीय तहलाई प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नती गर्न २ अर्व ६ करोड रुपैयाँ छुट्याईएको छ ।

नेपाल सरकारको समानीकरण अनुदान ६ अर्व ७८ करोड, सशर्त अनुदान ६ अर्व ५० करोड, राजश्व बाँडफाँट ६ अर्व ५८ करोड, समपूरक अनुदान ७१ करोड, विशेष अनुदान ३५ करोड ५० लाख र आन्तरिक राजश्वबाट १ अर्व ६९ करोड ९५ लाख गरी २२ अर्व ६२ करोड रुपैयाँ खाताबाट बाँडिएको हो ।

कमेन्टहरु
Loading...