पोखरामा जापानी प्रबिधिको नेपाली घर

काठैकाठको घरको ब्यबशायिक सुरुवात, ३० बर्षको ग्यारेण्टी सहित ३ महिनामा घर

गोकुल बानियाँ
पोखरा, १२ मंसिर । नेपालमा काठै काठबाट बनेको घरको ब्यबशायिक सुरुवात भएको छ । अन्तराष्ट्रिय सामाग्री र प्रबिधिको प्रयोगले बनाईएका घरहरुको ब्यबशायिक सुरुवात पोखराबाट भएको हो । जापानमा सिकेको सिपलाई नेपाली भूमिमा प्रयोग गर्ने क्रममा ईस्सुईसा नामक जापानी संस्थाको लगानीमा काठै काठको प्रयोगमा घर निर्माणको काम थालिएको छ ।

जापान, अमेरिका, क्यानडा लगायत बिकसित अन्तराष्ट्रिय मुलुकमा बढ्दै गएको काठको घरको प्रयोगलाई नेपालमा प्रबद्र्धन गर्ने प्रयास गरिएको संस्थाका नेपाल प्रमुख सुन्दर पौडेलले बताए । क्यानडाबाट ल्याएको देबदार काठलाई प्रयोग बनाईने घर एक सय बर्ष सम्म टिक्ने दाबि गरिएको छ । घर निर्माणको क्रममा सपोटरको रुपमा अन्य केहि बस्तु प्रयोग भएपनि ८० प्रतिशत काठको मात्र प्रयोग गरिने संस्थाको दाबि छ । अन्तराष्ट्रिय स्तरको काठ, अन्तराष्ट्रिय प्रबिधिको प्रयोगमा कम्तिमा ३० बर्षको ग्यारेण्टी सहित घर निर्माण गरिने कम्पनीले जनाएको छ ।

home 1

नेपालमा प्रशस्त काठ भएपनि टिकाउको हिसाबले अन्तराष्ट्रिय काठको प्रयोग गर्नुपरेको पौडेलले बताए । बिदेशबाट आयातित काठको तौल समेत कम हुने र टिकाउ पनि बढी हुने भएकाले भुकम्प प्रतिरोधी घर निर्माण गर्न सकिने बताईएको छ । काठै काठबाट निर्मित घर ८ रेक्टर स्केल सम्मको भूकम्प प्रतिरोधी हुने कम्पनीले जनाएको छ । थाईल्ण्डबाट आयातित काठ नेपाली काठको तुलनामा ४० प्रतिशत महंगो हुने बताईएको छ ।
अन्तराष्ट्रिय प्रबिधिको प्रयोगबाट निर्मित काठको घर मौषमी दृष्टीकोणले पनि अनुकुल हुने दाबि गरिएको छ । नेपालको हिमपात हुने उच्च हिमाली क्षेत्र र सितलहर र उच्च तापक्रमको चपेटामा पर्ने तराईमा यो प्रबिधिको घर आबासको लागि अति उपयोगि हुने बताईएको छ । जापानमा काठको घरको ब्यबशायिक काम गर्दै आएको संस्थाले पहिलोपटक नेपालमा लगानी गरेको हो । प्रारम्भिक चरणमा ५ करोड लगानी गरिएपनि नेपालमा १० करोड सम्मको लगानीमा काम गर्ने कम्पनीले जनाएको छ ।

अहिले सम्म पोखरामा एक होटल सहित तीन ओटा घर निर्माणको लागि अर्डर भैसकेको र नवलपरासीको कावासोतिमा एउटा थारु रिसोर्ट निर्माणको योजना रहेको नेपाल ईस्सुईसा प्रालिले जनाएको छ । काठबाट निर्माण गरिने घरको बाहिरी भित्तामा सिमेण्ट बोर्ड र भित्री भित्तामा जिप्सन बोर्डको प्रायोग गरिने भएकाले आगो र पानीको प्रभाब कम हुने कम्पनीका नेपाल प्रमुख पौडेलले बताए ।

कुनैपनि ब्यक्ति वा संस्थाले घर निर्माणको अर्डर दिएमा कम्तीमा निर्माण प्रकृतिको आधारमा एक महिनादेखि ३ महिना भित्रमा घर तयार गरिने उनले बताएका छन् । कम्पनीले नेपाली युवालाई जापानी सिप सिकाएर रोजगारी समेत दिईरहेको छ । अहिले सो कम्पनीमा १० नेपाली कामदार प्रशिक्षणपछि काम गरिरहेका छन् ।

तस्विर सौजन्य : हुम गुरुङ

कमेन्टहरु
Loading...