काहूँ महोत्सवमा आफन्तको जम्घटस्थल बन्दै

पोखरा, २ पुस । तेस्रो काहूँ धरहरा महोत्सव आफन्त भेटघाटस्थल बनेको छ । चिसो मौसमको बाबजुद पनि विभिन्न ठाउँबाट दर्शक महोत्सवस्थल पुग्ने गरेका छन् । उनीहरु आपसमा भेटघाट गर्दै महोत्सवमा रमाउने गरेका छन् ।

काहूँडाँडामा रहेको काहूँ धरहराबाट पोखरा लगायत आसपासको सुन्दर दृश्य तथा मनोरम हिमाल देख्न सकिने हुँदा पनि दर्शक महोत्सव आउने गरेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए । जारी महोत्सवको चौथो दिन सोमबार चर्चित हास्यकलाकार जितु नेपालले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

यस्तै सालैजो भाखाका गायक राजु गुरुङले दर्शक नचाए भने स्थानीय कलाकारले पप कन्सर्ट प्रस्तुत गरेका थिए । लोकदोहोरीगायक जीवन दाहाल, सरला पाण्डे, सीता केसी, केशव देवकोटा, रामजी पौडेल, लक्ष्मी नेपाली, श्रीराम अधिकारी र सरस्वती परियारले आफ्नो प्रस्तुति राखेका थिए ।

मंगलबार युवापुस्ताकी चर्चित गायिका ज्योति मगरले दर्शकलाई प्रशस्त मनोरञ्जन दिने भएकी छन् । अन्य कलाकारमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, विष्णुहरि ढुंगाना, सरला पाण्डे, अमर धिताल, कमल गैह्रे, सीता थापा, श्रीराम अधिकारीको प्रस्तुति रहनेछ ।

महोत्सवको थप आकर्षणमा जादुगर बलराम सरकारको जादु हेर्न पाइनेछ भने रत्यौली गीत प्रतियोगिताअन्तर्गत देउराली आमा समूह र कमरेपानी आमा समूह काहूँबीच प्रतिष्पर्धा हुनेछ । दोहोरीगीत प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, हेमजा र सुमन केसी समूहबीच हुने सांस्कृतिक कार्यक्रम संयोजक रामकृष्ण बास्तोला गोर्खालीले जानकारी दिए ।

पोखरा–११, काहुँडाँडामा जारी महोत्सव पुस ८ गतेसम्म चल्नेछ । महोत्सवस्थल पुग्न पोखरा रानीपौवास्थित दूरसञ्चार कार्यालय अगाडिबाट प्रत्येक आधा घण्टामा बस जाने व्यवस्था मिलाइएको यातायात व्यवस्था समिति संयोजक सु.इन्द्रबहादुर गुरुङले जानकारी दिए ।

बाटो सरर रररर भए पछि काहूँडाँडामा पर्यटक बढे

कमेन्टहरु
Loading...