दक्ष जनशक्ति उत्पादनको लागि नयाँ परियोजना 

पोखरा,२६ भदौ / ब्रिटिस काउन्सिलले नेपालको प्राविधिक, व्यवसायीक शिक्षा तथा प्रशिक्षण ( टिभिइटी) क्षेत्र सुधारको लागि अनुदानको प्रक्रिया अगाडि बढाएको छ ।  युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित ‘दक्षता– टिभिइटी प्राक्टिकल पार्टनरसीप परियोजनाले कृषि, निर्माण तथा पर्यटन क्षेत्रको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि अनुदानको प्रक्रिया अगाडि बढेको हो ।
मानव पूँजीमा लगानी गर्दै रोजगारीको अवसर सृजना गरी  विकासमा सघाउनु परियोजनाको उदेश्य रहेको छ । परियोजना अन्तर्गत नेपालका विभिन्न क्षेत्रको दक्षता अभिवृद्धिका लागि ९० लाख युरो खर्च गरिने छ । परियोजनाका टोली प्रमु्ख सिनएन कर्लीका अनुसार अनुदान कार्यक्रम चालु अंग्रेजी वर्षको नोभेम्बरबाट सुरु हुनेछ ।
परियोजनाको अनुदान पूर्वको प्रक्रियागत जानकारी दिनको लागि पोखरा उद्योग वाणिज्य संघ तथा ब्रिटिस काउन्सिलको आयोजनामा सोमबार पोखरामा भएको छलफल कार्यक्रममा बोल्दै टोली प्रमुख कर्लीले सार्वजनिक निजी साझेदारीको अवधारणामा रोजगारी सृजना गर्ने निजी क्षेत्रकै आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्नु परियोजनाको लक्ष्य भएको बताउनुभयो । परियोजनाले यहाँको निजी क्षेत्रसँगको सहकार्यमा कृषि, भौतिक निर्माण तथा पर्यटनको क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको उहाँले प्रष्ट पार्नुभयो ।
नेपाली श्रम बजारमा युवाहरुको विदेश पलायन समस्याको रुपमा रहेको चर्चा गर्दै उहाँले श्रम बजारमा महिलाहरुको बाक्लो उपस्थिति बनाउन सके दक्ष कामदारको अभाव कम हुने उहाँको तर्क थियो । सिटिइभिटीसँगको सहकार्यमा हुने तालीमहरु प्रयोगात्मक हुने उहाँले प्रष्ट पार्नुभयो ।   नेपालमा  दक्षता मापनको स्पष्ट आधार नभएको बताउँदै उहाँले नेपाली कामदारको लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुने गरी प्राविधिक, व्यवसायीक शिक्षा तथा प्रशिक्षणमा  राष्ट्रिय मापडण्ड बनाइने जानकारी समेत दिनुभयो ।
 कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष रवीन्द्रबहादुर प्रजुले यो परियोजनाको संचालनले नेपाली श्रम क्षेत्रमा देखिएको  दक्ष कामदारको अभाव कम हुने अपेक्षा राख्नुभयो । संघका महासचिव दामु अधिकारीले दक्ष कामदारको अभावमा नेपालको निजी क्षेत्र फस्टाउन नसकेको उल्लेख गर्दै मानव पूँजीमा गरिने लगानीले राम्रो प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो । यसैगरी सिटिइभिटी पोखराका जीवन भण्डारीले प्राविधिक शिक्षाको क्षेत्रमा सरकारी लगानी नगन्य भएको चर्चा गर्दै दक्ष जनशक्ति उत्पादनको लागि निजी क्षेत्रसँगको सहकार्यको विकल्प नभएको बताउनुभयो ।
कमेन्टहरु
Loading...