संसारकै उत्कृष्ट बस अब नेपालमा, प्रत्येक सिटमा टेलिभिजन

सुरेन्द्र पौडेल
पोखरा, २८ माघ/उत्कृष्ट बस सञ्चालन गरि सेवा दिदै गरेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले संसारकै उत्कृष्ट बस भित्र्याउने तयारी गरेको दावी गरेको छ । प्रालिले आगामी वैशाखसम्ममा उत्कृष्ट बस नेपालमा सञ्चालन गर्ने तयारी गरेको सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए ।

प्रत्येक सिटमा छुट्टाछुट्टै टेलिभिजन, रिमोटबाटै सिट फोल्डिङ गरेर सुत्न सकिने, रिमोट सिस्टमबाटै मसाज गर्न सकिने सुविधा उपलब्ध हुने गरी पोखरा काठमाडौं रुटमा गाडी सञ्चालनको तयारी गरिएको अधिकारीले जानकारी दिए । ‘नेपालबाट संसारकै उत्कृष्ट बस सञ्चालन गर्ने तयारी भइसकेको छ,’ अधिकारीले भने, ‘एउटै सिटलाई ४ लाख रुपैयाँ खर्च गर्ने गरी बसमा लगानी गर्दैछौं ।’ बस २१ सिट क्षमताको हुने उनले बताए ।

नेपालबाट च्यासिस पठाएर भारतमा बसको डिजाइन तयार पारिने अधिकारीले जानकारी दिए । सिटको अर्डर भइसकेको उनले बताए । ‘अगाडि र पछाडि इयर सस्पेन्सन भएकाले गाडी कत्तिपनि हल्लिदैन,’ उनले भने, ‘नेपालको यातायात क्षेत्रलाई विश्वमा चिनाउन यो सेवाले योगदान पु¥याउने मेरो विश्वास छ ।’

गाडीमा मिनीबार, ट्वाइलेट र बाथरुमको समेत सुविधा उपलब्ध रहने अधिकारीले जानकारी दिए । यात्रुको सेवा सुविधाका लागि बसक्र्यिु व्यवस्था समेत गरिनेछ । प्रत्येक सिटमै खाना, खाजा, चिया, तथा चिसोको व्यवस्था गरिने उनले बताए । ‘प्रत्येक सिटमै खाना टेवलको व्यवस्था गरिनेछ,’ उनले भने । प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत उक्त बस सञ्चालनको तयारी गरिरहेको छ ।

अधिकारीकै लगानीमा पोखरा काठमाडौं रुटमा गत वर्षदेखि मिनीबार सहितको सुविधा सम्पन्न बस सञ्चालन भइरहेको छ । सुपर डिलक्स मापदण्डको २१ सिट क्षमताको उक्त बसलाई एसियाकै उत्कृष्ट बस दावी गरिएको छ । ट्वाइलेट तथा मिनीबारको सुविधा सहितको रात्री बससमेत उनले सञ्चालन गरिरहेका छन् ।

कमेन्टहरु
Loading...