घरभाडा नमाग्न घरभाडा सरोकार समितिको अपिल

पोखरा, २८ जेठ / नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको छ । समितिले विज्ञप्ती जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरुलाई अपिल गरेको हो ।

समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘कोभिड–१९ को पीडामा परि छटपटाईरहेका आम व्यवसायीहरुलाई यो विकराल परिस्थिति रहेसम्म घरभाडा भुक्तानीको निम्ति दवाब नदिन, भाडा बृद्धि नगर्न र घर कोठाबाट निस्काशित नगर्न अनुरोध गर्दछौं ।’

कोभिड–१९ का कारण लकडाउन शुरु भएलगत्तै तत्कालिन समयमा वर्तमान विकराल परिस्थितिको आँकलन गर्दै वैंक तथा वित्तिय संस्थाको किस्ता पुर्नतालिकीकरण गर्न, व्याज छुट दिन तथा घरभाडा छुट दिने वातावरण बनाउन माग गर्दै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको घरभाडा सरोकार समितिले जनाएको छ ।

उसले भनेको छ,‘तर हामीले सोंचेभन्दापनि अवस्था जटिल बन्दै गयो, त्यसैले हामी जन्ती जाँदाको मात्र होइन, मलामी जाँदाकोपनि साथी’ बन्ने प्रयास गर्दै यो आग्रह गर्दछौं ।’ स्वेच्छिक रुपमा कतिपय घरधनीले कतै ५० प्रतिशत त कतै शत प्रतिशत घरभाडा छुट दिएको भन्दै ति घरधनीप्रति धन्यवाद र आभारसहित कोभिड–१९ को विकराल परिस्थिति रहुञ्जेल सो कार्य जारी राख्न आग्रहसमेत गरेको छ ।

साथै घरभाडा सरोकार समितिले राजस्वलगायतका सबै कर तिर्ने निर्णयबारे पुर्नबिचार गर्न सरकारलाईसमेत आग्रह गरेको छ । घरभाडा लिन नपाइरहेका घरधनीहरु तथा व्यवसायीहरुलाई सरकारले आगामी असार ७ गतेसम्म कर तिर्न दिएको समयसीमा पुर्नबिचार गर्न तथा वैंक तथा वित्तिय संस्थाको व्याज र किस्ता परिस्थिति सहज नभएसम्म तिर्नलाई ताकेता नगर्न आग्रहसमेत गरेको छ ।

कमेन्टहरु
Loading...