गुनासो र सुझाव लिएर होटलकर्मी सरकारी कार्यालयमा

पोखरा, १ असार : होटल तथा समग्र पर्यटन क्षेत्र र अन्य सेवाग्राहीले भोग्दै आएका विविध समस्याको उचित संवोधन गरिनुपर्ने माग सहित पश्चिमाञ्चल होटल संघ पोखराको एक टोलीले विहीबार विभिन्न सरकारी निकायको ध्यानाकर्षण गराएको छ ।
यसैविच संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा एक टोली घरेलु तथा साना उद्योग कार्यालय कास्की, नेपाल खानेपानी संस्थान पोखरा, पर्यटन कार्यालय पोखरा र पोखरा लेखानाथ महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा पुगेको थियो ।
संघका अध्यक्ष तुलाचनले छ नम्वर वडा क्षेत्र महत्वपूर्ण पर्यटकीय क्षेत्र भएको स्मरण गराउँदै त्यस क्षेत्रमा विद्यमान विकृति समाधान गर्दै अगाडि बढ्न सो वडाका अध्यक्ष जगत पहारी समक्ष माग राखेका थिए । लेकसाइडमा ध्वनी प्रदूषण नियन्त्रण गर्दै पर्यटक तथा स्थानीय शान्त र सुरक्षित रुपमा रमाउने वातावरणका लागि हातेमालो गरेर अगाडि बढ्न तुलाचनले अध्यक्ष पहारीको ध्यानाकर्षण गराएका थिए ।
संघका सल्लाहकार गोविन्दराज पहारीले तालिका नै बनाएर फोहोरमैला उठाउनका लागि वडा तथा महानगर कार्यालय संवेदनशील बन्नुपर्ने सुझाव सो अवसरमा राखेका थिए । छाडा चौपायाको नियन्त्रण, भुस्याहा कुकुरहरुको नियन्त्रण तथा नगरवस र सर्वाजनिक सवारी साधनहरु निश्चित ठाउँमा रोक्ने र यात्रु चढाउने तथा ओराल्ने व्यवस्था जरुरी भएको भनाई पनि उनले राखे । पर्यटकहरुका लागि निशुल्क वाईफाई स्थलको व्यवस्था र लेकसाइडमा व्यवस्थित पार्किङको व्यवस्था जस्ता विषयमा पनि छलफलका क्रममा आवाज उठाइएको थियो ।
अध्यक्ष पहारीले भने व्यवसायीले उठाएका सबै मागहरु जायज भएको भन्दै तिनको संवोधनका लागि आफूले काम थालि सकेको बताए । तालिका नै बनाएर फोहोर उठाउने कुरा कार्यान्वयन गरिने र लेकसाइडमा उचित पार्किङका लागि सबै सरोकारवालासँग छलफल गरी निश्कर्षमा पुगिने उनले बताए ।
यसैगरी घरेलु कार्यालयमा भएको भेटघाटमा अध्यक्ष तुलाचनले व्यवसाय दर्ताको क्रममा नाम जुध्ने समस्याप्रति कार्यालय गंभीर बन्नुपर्ने सुझाव राखे । उनले नाम तथा उद्धेश्य भन्दा बाहिरको काम गर्ने अनि विना दर्ता व्यवसाय संचालन गर्नेहरुलाई पनि कार्वाहीको दायरामा ल्याउन सुझाव राखे । संघका सचिव राजेन्द्र ढकालले कतिपय व्यवसायीले गैरकानूनी रुपमा होस्टेल नाम राखेर होटेलको जस्तै काम गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्न कदम चाल्नुपर्ने भनाई राखे ।
घरेलु कार्यालय पोखराका प्रमुख थमनसिंह थापाले नाम तथा उद्धेश्य अनुसारको काम नगर्ने व्यवसायीलाई कार्वाही गर्न आफ्नो संस्था तयार रहेको बताउँदै व्यवसायीका सल्लाह र सुझाव अनुसार आफ्नो कार्यालय हातेमालो गरेर अगाडि बढ्ने बताए ।
संघको टोलीले पोखराको खानेपानी समस्या समाधानका लागि गंभीर बन्न उक्त कार्यालयका कर्मचारीलाई आग्रह गरेको थियो । पटक पटक संघ खानेपानी कार्यालयमा गुनासो लिएर पुगेपनि अपेक्षित रुपमा समस्या संवोधन नभएको भन्दै यसतर्फ गंभीर बन्न संघले ध्यानाकर्षण गराएको थियो । पर्यटन कार्यालय पोखरामा पनि संघले कर्मचारीहरुसँग भेटघाट गरी होटल तथा पर्यटकीय प्रतिष्ठानहरु दर्ता प्रक्रिया तथा समस्याका बारेमा छलफल गरेको थियो ।
संघका महासचिव गणेशराज पहारीले कार्यालय प्रमुखहरुलाई पश्चिमाञ्चल होटल संघको डाइरेक्ट्री र टेवल क्यालेन्डर प्रदान गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष पार्वती पाण्डे र सदस्य भीष्मराज पौडेलको पनि उपस्थिति थियो ।
कमेन्टहरु
Loading...