होटल पोखरा ग्राण्डको वार्षिकोत्सवमा विविध कार्यक्रम

पोखरा, १४ साउन / पोखराको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्ड अगस्ट १ (साउन १६) गतेबाट स्थापनाको १३औं वर्षमा प्रवेश गर्दैछ । पोखरा आउने स्तरीय तथा विशिष्ट पर्यटकलाई सेवा दिने लक्ष्यसहित सञ्चालित होटलले वार्षिकोत्सवको पूर्व सन्ध्यामा विविध कार्यक्रम गरेको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा होटलले जुलाई १० देखि १३ सम्म अन्तर विभागीय फुटबल तथा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । जुलाई १९ मा होटल परिसर सरसफाई गरिएको छ ।

जुलाई २६ मा बाच्छेबुडुवा वृद्धाश्रमलाई खाना तथा लत्ताकपडा सहयोग गरिएको महाप्रवन्धक रोशन खवासले जानकारी दिए । जुलाई २८ मा बिरौटाचोकदेखि आँखा हस्पिटलचोकसम्म सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विविध कार्यक्रम भएको उनले बताए ।

वार्षिकोत्सवको अवसरमा अगस्ट १ मा पुरस्कार वितरण, लामो समय सेवा गर्ने कर्मचारीलाई सम्मान, विविध सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । होटलले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।

होटलमा १० वटा स्विट रुमसहित होटलमा १ सय ४० वटा कोठा छन् । ५ वटा हल छन् । होटलमा ३ वटा रेस्टुरेन्ट र एउटा बार रहेको महाप्रवन्धक खवासले जानकारी दिए । स्पा, हेल्थ क्लब, स्विमिङ पुल, ट्राभल्स डेक्ट, बिजनेस सेन्टर तथा पर्याप्त पार्किङको सुविधा रहेको उनले बताए ।

होटल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा परेको बताउँछन् खवास । ‘सिजनमा फुल अकुपेन्सी रहने होटलमा लो सिजनमा पनि बुकिङ राम्रो छ,’ उनले भने, ‘हामीले प्रदान गर्ने उत्कृष्ट सर्भिसबाट पर्यटक आकर्षित भएका हुन् ।’

पोखरामा रहेको एकमात्र पाँचतारे होटल, प्राइम लोकेसन, मल्टिपल बैंक्युट हल, खाना र सेवा राम्रो भएकाले पनि पोखरा ग्राण्ड धेरैको रोजाईमा परेको उनले बताए । पोखरामा आयोजना हुने ठूला सेमिनार, भिआइपी भिजिट, सम्मेलन लगायतका कार्यक्रम प्राय पोखरा ग्राण्डमै हुने गरेको उनले जानकारी दिए । होटलमा करिब २ सय जना कर्मचारी कार्यरत छन् ।

कमेन्टहरु
Loading...