होटल संघद्वारा प्रशासनको ध्यानाकर्षण

पोखरा, ४ चैत / पश्चिमाञ्चल होटल संघ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको विभिन्न वस्तुको कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा मंगलबार प्रशासन कार्यालय पुगेको संघले टोलीले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई भेटी एक ध्यानाकर्षण पत्र प्रदान गरेको थियो । सो अवसरमा टोलीले मास्क, हेण्ड सेनिटाइजर, औषधी तथा अति आवश्यक दैनिक उपभोग्य वस्तु– इन्धन, खाद्यान्न आदिको कृत्रिम अभाव रोक्न प्रजिअ केसीको ध्यानाकर्षण गराएको थियो ।

यसका लागि अध्यक्ष तुलाचन सहित संघका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुली, पश्चिमाञ्चल होटल संघ पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्ष दिपक श्रेष्ठ, महासचिव गणेशराज पहारी र कोषाध्यक्ष पार्वती पाण्डे प्रशासन कार्यालय पुगेका थिए ।

कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभाव सम्बन्धमा सदस्य होटलहरु विच भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मास्क, हेण्डसेनिटाइजर, औषधी तथा अति आवश्यक दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको विषयमा छलफल भएको पनि सो अवसरमा स्मरण गराइएको थियो ।

यसैगरी आगन्तुक पाहुना तथा होटलमा कार्यरत कर्मचारी र आम उपभोक्ताहरुलाई समेत असहज परिस्थिति सिर्जना हुन थालेको गुनासो समेत संघको कार्यालयमा प्राप्त भएको भन्दै अध्यक्ष तुलाचनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा समेत उत्तिकै त्रास र संकट सिर्जना भएको बताए ।

ध्यानाकर्षण पत्रमा भनिएको छ– मानव सभ्यता र जीवन उपर नै गम्भिर चनौति र विश्व जगतको साझा समस्याको रुपमा रहेको कोरोना भाईरसको प्रभावबाट नेपालसमेत सम्पूर्ण रुपमा प्रभावित हुँदै गइरहेको र परिणाम स्वरुप नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्दै सबै देशका आगमन प्रवेशाज्ञा समेत बन्द गर्दा मानवीय गतिविधिमा आधारित सम्बन्धित उद्योगहरु विशेष गरी होटल व्यवसाय ठप्पै भइसकेको छ ।

सरकारद्धारा घोषित नेपाल भ्रमण वर्ष २०२० मा केही राहत हुने अपेक्षा गर्दै गर्दा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखा परेको भाइरसका कारण होटल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋणको व्याज एवम् होटलमा कार्यरत कर्मचारीहरुको पारिश्रमिक समेत भुक्तानी गर्न सक्ने अवस्था नभएको स्मरण पनि संघले गराएको छ ।

पश्चिमाञ्चल होटल संघ पोखरा यस क्षेत्रका पर्यटकीय होटलहरुको साझा संस्था हो । संघले गण्डकी प्रदेश क्षेत्रको तथा समग्र नेपालको पर्यटन प्रवद्र्धन एवम् दिगो पर्यटन विकासलाई प्रभावकारी बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरी आर्थिक विकासमा टेवा पु¥याउदै आएको छ ।
कमेन्टहरु
Loading...