संगम युवा क्लब हंसपुरले चैते दशै मेला आयोजना गर्ने

पोखरा , ३० चैत/संगम युवा क्लब हंसपुर ९ कास्कीले ऐतिहासीक पर्व चैते दशैको अवसरमा मेला आयोजना गर्ने भएको छ ।लेखनाथ १०, हंसपुर ९ र रुपाकोट ३ को संगमस्थल उपल्लो तालबेशीमा क्लबले बिबिध कार्यक्रम सहित रामनवमी तथा चैते दशै मेला आयोजना गर्न लागेको हो ।

बैशाख ३ र४ गते आयोजना हुने मेलाको अवसरमा भलिबल प्रतियोगिता, लोकगीत प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रतियोगिता, भाले जुधाई लगायतका प्रतियोगिता गर्न लागेको क्लवका सदस्य सन्तोष सुबेदीले जानकारी दिए ।

भलिबल प्रतियोगिताको लागि प्रथम पुरस्कार ३० हजार रुपैया नगदका साथै प्रमाण पत्र र मेडल , द्धितिय पुरस्कार २० हजार रुपैया नगद ,मेडल र प्रमाण पत्र रहने क्लवका अर्का सदस्य सञ्जिब सुबेदीले जानकारी दिए । यसैगरी अन्य प्रतियोगितामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लवले जनाएको छ । यस्तै मेलाको अवसरमा स्वास्थ्य तथा आर्युवेदिक परामर्श,कृषि तथा पशु परामर्श र पाठापाठी सहितको माउ बाख्राको प्रदर्शन पनि गरिने आयोजकले जनाएको छ ।

मेलाको अवसरमा राष्टिय स्तरका कलाकारहरुबाट हाँस्य व्यङग्कय तथा गायन प्रस्तुतीका साथै साँझ स्थानिय साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने कार्यक्रम संयोजक तारानाथ सुबेदीले बताए । मेला सम्पन्न गर्न तालबेशी आमा समुह, उल्लेरी आमा समुह वेशीघर आमा समुह लगायतको सहयोग रहने बताईएको छ । मेला सम्पन्न गर्न क्लवका कार्यवाहक अध्यक्ष सञ्जय सुबेदीको अध्यक्षतामा मेला मुल आयोजक कमिटि पनि गठन गरिएको छ ।

कमेन्टहरु
Loading...