पसिना बगाएर फलाएको आलुबाट मनग्ये आम्दानी

जीवन सुवेदी
पोखरा, २८ फागुन /हेमजामा चलिरहेको आठौँ संस्करणको आलु महोत्सवमा प्रवेश गर्ने वित्तिकै त्यस क्षेत्रका कृषकहरुले दुख गरेर फलाएको आलुको थुप्रोले स्वागत गर्दछ । जसलाई कृषकहरुले आलुको पहाड उपनाम समेत दिएका छन् । उर्वर माटो आलुको पकेट क्षेत्र अनि प्रत्येक घरका कृषकको मुख्य बाली आलु लगाउने र सो को विक्रीबाट मनग्ये आम्दानी गर्नु कास्की पोखराको हेम्जाका किसानको नियमित कर्म बन्दै गएको छ ।

विगतमा अर्थात आजभन्दा करिब ८÷१० वर्ष अघि पनि त्यहाँका किसानहरुले अर्गानिक प्रविधिबाट टन्न आलु फलाउँथे । तर उनीहरुले फलाएको आलु विक्रिी गर्न निकै कठिन थियो । राजमार्गले छोएको हेमजामा यातायातको सहज पहुँच भएपनि महिला कृषकहरु डोकोभरी आलु राखेर विक्रि गर्न पोखरा सम्म पुग्ने गर्दथे । तर अहिले भने समय फेरिएको छ ।
अहिले भने यहाँका बासिन्दाहरु आफ्नो ठाउँलाई आलुको पर्याय बनाउन सफल भएका छन् ।

अहिले हेमजाबासीका दुख एकादेशका कथा जस्तै भईसके । अहिले उत्पादन भएको आलु आप्mनै आँगनबाट क्वीण्टलका क्विण्टल विक्री हुने गरेको छ । आलुको विक्रिका लागि वर्षेनी हेमजामा आयोजना हुँदै आएको आलु महोत्सवको आठौँ संस्करणसम्म आईपुग्दा आलुको विक्री गर्न धेरै सहज भएको छ । आलुको विक्री गर्ने प्रकृयामा समेत धेरै सुधार आएको छ । आफ्नै ठाउँमा महोत्सव आयोजना गरिएपछि दुःख गरी फलाएका आलु डोकोमा बोकेर पोखरासम्म धाउनुपर्ने बाध्यताबाट उनीहरु मुक्त भएका त छन् नै त्यसैमाथि आप्mनो ठाउँलाई आलु गाउँका रुपमा समेत परिचित गराउन सफल भईसकेका छन् ।

हेमजा आलु महोत्सव
हेमजा आलु महोत्सव

महोत्सव आयोजना हुन थालेपछि यस ठाउँको प्रचारप्रसारमा ठूलो टेवा मिलेको र पोखरा लगायत आसपासका उपभोक्ताहरु आलु तथा ताजा तरकारीका लागि हेम्जासम्म आउन थालेको कृषक जयराम तिमिल्सिनाको भनाई छ ।  कृषकहरुको सुविधाका लागि यहाँ वर्षेनी विष्णु पादुका क्लब हेमजाले महोत्सवको चाँजोपाँजो मिलाउँदै आएको छ । महोत्सवमा राखिएका आलुका परिकारहरुले त झन आलुको लोकप्रियता प्रष्ट पारेको छ । महोत्सवमा आलुबाट बनेका २० प्रकारका परिकारहरु महोत्सवमा पुग्र्ने दर्शकहरुलाई आकर्षण बन्ने गरेको छ । आलुबाट मःम, पापड, आलु दम, आलुको हलुवा, पकौडा, अचार, आलुको कवाफ, आलुको परौठा, मस्यौरा, खिर र आलुको सुप लगायतका परिकार महोत्सवमा राखिएका छन् ।

अहिले कृषिमा देखिएको मुख्य चुनौती विषादियुक्त तरकारी हो । जसबाट मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । तर महोत्सवमा पुग्ने कृषक तथा दर्शकहरुका लागि विषादिरहीत तरकारीबालि कसरी गर्ने भनेर अभियान समेत चलाईएको छ । जागरण अभियान नेपाल पोखराको स्टलमा पुग्ने कृषकहरुलाई विषादि प्रयोगबाट पर्ने असरहरुबारे जानकारी गराईएको छ । शनिबार जागरण अभियानका उपाध्यक्ष विनोद त्रिपाठी कृषकहरुलाई विषादि रहित तरकारी उत्पादनको प्रशिक्षणमा व्यस्त देखिए ।

सातौ हेमजा आलु महोत्सव सुरु
हेमजा आलु महोत्सव

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नारा सहित आयोजित महोत्सवमा महोत्सवमा करिब दुई करोड भन्दा बढीको आलुको कारोबार हुने अपेक्षा गरिएको छ । यति ठूलो परिणाममा आलुको कारोबार हुन आफैमा सुखद पक्ष हो । साथै कृषिमा लगानी गरे प्रतिफल अवस्य प्राप्त हुन सक्दोरहेछ भन्ने कुराको पनि ज्वलन्त उदहारण हो । हेमजामा मात्रै चार सय क्षेत्रफलमा आलु लगाइने र आठ हजार ४ सय मेट्रिकटन आलु उत्पादन हुने गरेको छ आलुको पकेट क्षेत्र भएकाले पनि कृषकहरुको सुविधा तथा उपभोक्ताको हितका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक एवं विष्णुपादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीले बताउनुभयो ।

महोत्सवले कृषक र उपभोक्ताबीच सीधा व्यापारलाई पनि सघाउ पुगेको छ । महोत्सवमा यस वर्ष दुई प्रकारका आलुको विक्रि वितरण भएको छ । लाम्चो प्रकृतिको एम एस ४२.३ निलो जातको आलु हेमजाको मुख्य बिषेशता हो । छिटो पाक्नुका साथै चिनिको मात्रा समेत बढी हुने गरेको कृषि बिज्ञहरु बताउछन । माहोत्सवले सम्पूर्ण कृषकहरुका लागि प्रत्यक्ष फाईदा पुगेको र उत्पादन बढाउने आधुनिक बाली प्रविधिमा कृषकहरुलाई जानकारी गराउन सफल भएको महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष महेन्द्र थापा बताउनुहुन्छ ।

कास्कीमा झण्डै १ हजार ३० हेक्टर क्षेत्रफलमा आलु खेती गरिदैं आएको छ । हेमजा गाविसमा मात्रै ४ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । यहि चैत्र १ गतेसम्म चल्ने आठौँ आलु महोत्सवमा महोत्सवमा ६० वटा व्यवसायिक स्टल, १२ वटा आलुका परिकार स्टल १५ वटा कृषि प्रविधि प्रदर्शनी एक प्राथामिक उपचार केन्द्र र एक सूचना केन्द्र रहेका छन् । २१ सय ४५ घरधुरी रहेको हेमजामा ५ सय ५० घुरपरिवारले ब्यवसायीका आलु खेती गदै आएका छन् । हेमजामा उत्पादित आलुले नेपालको कुल उत्पादनको शुन्य दलमलव ४९ प्रतिशत हिस्सा ओगटेको छ । यहाँको उत्पादनले पोखरामा सिजनमा ३० प्रतिशत सम्म माग धान्न सकेको छ । हेमजा बासीको यो प्रयासले निरन्तरताले कृषिमा पनि लगानी गरे प्रतिफल पाउन गाहो छैन भन्ने कुरालाई ढुक्क संग भन्न सकिन्छ ।

कमेन्टहरु
Loading...