डिजिटल पेमेन्टलाई प्राथामिकता दिन कामु गभर्नरको निर्देशन, ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखरामा

पोखरा, ८ बैशाख/नेपाल राष्ट्रवैंकका कायममुकायम गभर्नर चिन्तामणी सिवाकोटीले बैकहरुलाई डिजिटल पेमेन्टमा प्रथामिकता दिन निर्देशन दिएका छन् । पछिल्लो समय बजारमा नक्कली नोटको बढिरहेको बताउदै त्यसलाई कम गर्न पनि पनि डिजिटल पेमेन्टमा जानुपर्ने बताए । ग्रीन डेभलपमेन्ट वैंक लिमिटेड पोखरा शाखाको शुक्रबार उद्घाटन गर्दै उनले नेपाल राष्ट्रबैंकले डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्न छिटै नयाँ व्यवस्था गर्न लागेको बताएका छन् ।

उनले व्यक्तिको बाँझो जग्गालाई राष्ट्रियकरण गरेर त्यसमा कृषि गतिविधी गर्नेलाई लिजमा दिईनुपर्ने बताए । त्यसो भयो भने मात्रै कृषिले फड्को मार्ने उनको भनाई थियो । सिवाकोटीले कृषिमा हालसम्म १ करोडसम्म मात्र बैंकमार्फत ऋण कर्जा दिने प्रावधान रहेकाले अब साउन १ गतेदेखी ७ करोडसम्म ऋण कर्जा लिन पाउने व्यबस्था मिलाइसकेको जानकारी दिए । त्यस्तै, कृषकको ५ प्रतिशत ब्याज राष्ट्रवैंकले तिरिदिने भएकाले बाँकी ब्याज मात्र कृषकसँग लिन बैंकहरुलाई निर्देशन दिए ।

सिवाकोटीले आगामी आर्थिक बर्ष साउन १ गतेदेखि १० लाख रुपैया भन्दा बढी कुनै व्यक्तिले नगद कारोवार गर्न नपाइने बताए । ठुलो रकम लिएर हिंड्दा बढी जोखिम हुने भएकोले त्यसलाइ व्यबस्थित पार्न नेपाल राष्ट्रवैंकले हाल अधिकतम ३० लाख सम्म नगद कारोवार गर्न पाउने ऐनलाई परिवर्तन गरी १० लाखमा झार्ने निर्णय गरेको जानकारी दिए । त्यो भन्दा बढी रकमको कारोबार गर्नुपर्दा अबदेखी चेकमा गर्नैपर्ने बाध्यता रहने उनको भनाई छ । त्यस्तै, साउनदेखी १० लाख रुपैयाँ भन्दा बढी रकम क्यास लिएर हिंडेको खण्डमा श्रोत खुलाउनुपर्ने अन्यथा राष्ट्रवैंकले जफत गर्ने उनले बताए ।

सिवाकोटीले बजारमा हाल तरलता देखिएको भनेर हल्ला चलाइएपनि यो तरलता नभई क्रेडिट क्रञ्चको अवस्था भएको बताए । वैंकहरुले लगानी र पूँजी बिच तादात्म्यता नमिलाउँदा यस्तो स्थिति आएको उनको भनाई छ । २० प्रतिशत मौज्दात राखेर ८० प्रतिशतसम्म लगानी गर्नुपर्ने भएपनि चुनावी माहोल, स्थिरताको संकेत लगायतका कारण लगानी बृद्धि हुँदा समस्या देखिएपनि चुनावमा हुने खर्चले यसलाई ब्यालेन्समा ल्याउने विश्वास व्यक्त गरे ।

बाग्लुङमा प्रधान कार्यालय रहेको बैंकले दोश्रो शाखाको रुपमा पोखराको सभागृहचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । २०७० सालमा स्थापित यो वैंकले यसअघी म्याग्दीको बेनीमा पहिलो शाखा खोलेको थियो । ‘ख’ वर्गको यो वैंकले बागलुङ, कास्की र म्याग्दीमा मात्र कारोबार गर्नेगरी स्विकृति लिएको छ । वैंकको चुक्ता पूँजी १० करोड र अधिकृत पूँजी ५० करोड रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत बैकुण्ठराज तिमिल्सिनाले जानकारी दिए ।

बैंक संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आजाद श्रेष्ठ, डेभलपमेन्ट वैंकर्स एशोसियसनका सदस्य तोयराज अधिकारी, पोखरा उद्योग वाण्ज्यि संघका बरिष्ठ उपाध्यक्ष रबिन्द्रबहादुर प्रजु, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...