उत्कृष्ट महिाल उद्यमी पुरस्कार गोमा ढकाललाई

पोखरा, ३१ असार /उद्यमी गोमा ढकाल उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत भएकी छन् । उद्यमशीलताको प्रवद्र्धनमार्फत आत्मनिर्भर अर्थतन्त्रका लागि नेपाली महिला उद्यमी व्यवसायीका रुपमा योगदन पु¥याएको भन्दै ढकाललाई नेपाल सरकारले पुरस्कृत गरेको हो । उद्योग मन्त्रालयले ७५ वटै जिल्लाका एकएकजना उत्कृष्ट महिलालाई पुरस्कृत गरेको छ । ढकाल कास्कीबाट उत्कृष्ट महिला उद्यमीका रुपमा छनोट भएकी हुन् ।

ढकालले करिब एक दशकदेखि रेन्बो ह्यान्डिक्राफ्ट उद्योगमार्फत महिलाको सिप विकास गराउँदै आएकी थिइन् । पोखराको लेकसाइडस्थित उक्त उद्योगमा एक सय २५ जना महिला कामदार रहेका छन् । उद्योगमा छ हजारदेखि १८ हजारसम्म तलबमा महिलाहरुले काम गर्दै आएका छन् ।

एकल, विपन्न, अपहेलित र अप्ठेरोमा परेका महिलालाई उद्योगबाट सिलाई, कटिङ, तान बुन्नेलगायतको तालिम निशुल्क दिँदै आत्मनिर्भर बनाउने जमर्को गर्दै आएको ढकालले जनाइन् । पुरस्कृत भएपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘पुरस्कार र सम्मानले मलाई खुसीमात्रै बनाएको छैन, थप जिम्मेवारीबोध पनि गराएको छ ।’

पुरस्कृत ढकाल रेन्बो उद्योगको सञ्चालक हुन् । समाजसेवी महिलाका रुपमा पोखरामा चिरपरिचित ढकाल राजनीतिमा पनि सक्रिय छन् । उनी नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य समेत हुन् । मन्त्रालयले राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रममार्फत देशैभरीका उत्कृष्ट महिला उद्यमीलाई सामुहिक रुपमा सम्मान र पुरस्कृत गरेको थियो । उनीहरुलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । कार्यक्रममा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले पुरस्कृत उद्यमीलाई बधाई तथा शुभकामना दिँदै प्रशंसा गरेका थिए ।

कमेन्टहरु
Loading...