गण्डकी प्रदेशको बजेट ५ महिनामा ९ प्रतिशत खर्च

पोखरा, ६ पुस / गण्डकी प्रदेशमा बजेटको खर्च सुस्त गतिमा अगाडी बढेको छ । चालु आर्थिक वर्षको ५ महिनाको अवधीमा करिब ९ प्रतिशत मात्रै बजेट खर्च भएको छ । प्रदेश सरकारले सुस्त गतिमा बजेट खर्च भएपछि लक्ष्य भेट्टाउन मुश्किल देखिएको छ ।

पाँच महिनाको अवधीमा गण्डकी प्रदेशमा २ अर्ब ८१ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यो बजेटको ८ दशमलब ७५ प्रतिशत मात्रै हो । गण्डकी प्रदेश सरकारले चालु खर्चतर्फ ८४ करोड रुपैयाँ खर्च गरेको छ ।

११ अर्ब ७६ करोड चालु खर्च रहेको प्रदेश सरकारले ५ महिनाको अवधीमा ७ दशमलव १४ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशका प्रदेश लेखा नियन्त्रक इन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

त्यस्तै पुँजीगत खर्चतर्फ प्रदेश सरकारले १ अर्ब ९७ करोड मात्रै खर्च गरेको छ । २० अर्ब ४४ करोड बजेट छुट्याएको पुँजीगत खर्चतर्फ हालसम्म ९ दशमलव ६७ प्रतिशत मात्रै खर्च भएको पौडेलले बताए ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै खर्च गर्ने मन्त्रालयमा भौतिक पूर्वाधार मन्त्रालय पहिलो नम्बरमा छ । भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षको ५ महिनाको अवधीमा २ अर्व बजेट खर्च गरेको छ ।

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७६/७७ का लागि ३२ अर्ब २० करोडको बजेट प्रस्तुत गरेको थियो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मंसिर मसान्त सम्म आन्तरिक स्रोतबाट ३ अर्व राजश्व संकलन गरेको छ ।

कमेन्टहरु
Loading...