गण्डकी प्रदेशको बजेट खर्च ५९ प्रतिशत मात्रै

पोखरा, २ साउन /गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५९ प्रतिशत मात्र बजेट खर्च गरेको छ । २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेटबाट पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बाँकी आठ अर्ब ११ करोड ५५ लाख रुपैयाँ चालुतर्फ छुट्याएको थियो । त्यस मध्ये १३ अर्ब ९५ करोड ७४ लाख खर्च भएको छ । गण्डकी प्रदेश सरकारले विकास (पूँजीगत) खर्च प्रतिशत तर्फ ५४ प्रतिशत र चालु खर्च तर्फ ६४ प्रतिशत खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिए ।

चालुतर्फको बजेटमध्ये ५ अर्ब २३ करोड ३५ लाख रुपैयाँ र पूँजीगततर्फ ८ अर्ब ७२ करोड २३ लाख रुपैयाँ मात्र खर्च गरेको भएको उनले बताए । असारको अन्तिम पाँच दिनमा मात्रै २ अर्ब रुपैयाँ निकासा भएको छ । यो कुल बजेटको २० प्रतिशत हुन आउँछ । असार मसान्तमा मात्रै कुल बजेटको ३३ प्रतिशत खर्च भुक्तानी भएको उनले बताए । असारमा पुजीँगत तर्फ ३२ र चालु तर्फ ३४ प्रतिशत खर्च भएको उनले बताए ।

प्रदेशको मुख्य प्रशासनिक केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून र आर्थिक मामिला तथा योजना मन्त्रालयमा भने पूँजीगत भन्दा चालुतर्फ बजेट बढी छ । असार मसान्तसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १५ करोड २० लाख रुपैयाँ खर्च गरेको छ । खर्च भएको कुल बजेटमा चालुतर्फ ९ करोड ५७ लाख र पूँजीगततर्फ ५ करोड ६३ लाख रुपैयाँ खर्चेको छ ।

त्यसै गरि आर्थिक मामिला तथा योजना मन्त्रालयको ७ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । त्यसै गरि सबै भन्दा बढि खर्च गर्ने मन्त्रालमा उद्योग पर्यटन मन्त्रालय रहेको छ । पर्यटन मन्त्रालयले ७८ प्रतिशत खर्च गर्दै चालु र पुजीँगत गरि १ अर्ब ७३ करोड, ६० लाख खर्च गरेको उनले बताए ।

कमेन्टहरु
Loading...