रुपातालको किनारमा फागु महोत्सव हुने

गिता राना मगर÷पोखरा २९ फागुन/रुपा–तालवेशी महोत्सवको प्रवद्र्धन, स्थानिय उत्पादन, कला र संस्कृतिको संवद्र्धन भन्ने मुल नाराका साथ छैठौ संस्करणको रुपा तालबेसी महोत्सव हुने भएको छ । विगत ५ वर्षदेखि फागु पूर्णिमाको अवसरमा रुपाताल किनारमा आयोजना हुदै आएको रुपा तालबेसी महोत्सवको छैठौ संस्करण आगामी चैत्रको ८, ९ र १० गते रुपातालमा हुने भएको हो ।

स्थानिय सप्तरंगी रंगी क्लव रुपाकोट १ लेखनाथ १० तालबेसीको आयोजनामा महोत्सवको आयोजना हुने भएको हो । स्थानिय संस्कृतिको जगेर्ना गर्दै फागुको मौलिकतालाई जगेर्ना गर्नका लागी महोत्सवको आयोजना गर्न लागिएको महोत्सव संयोजक दिल बहादुर गुरुङले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने उक्त महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुती, लोकदोहोरी, चुड्का, जैविक विविधतामा आधारित कृषि प्रदर्शनी, रुपातालको माछा तथा रक्तदान कार्यक्रमका साथै स्वर्गीय प्रेम बहादुर गुरुङ स्मृती भलिवल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, स्वर्गीय गंगा बहादुर गुरुङ स्मृती, छेलो प्रतियोगिता, रस्साकसी प्रतियोगिता महिला तथा पुरुष र प्रा. वि. स्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना हुने भएको छ ।

युनाइटेड क्लवको प्रवद्र्धनमा आयोजना हुने उक्त महोत्सवमा देवीस्थान गुरुङ आमा समुह रुपाकोट १ ताल बेसीको सह आयोजना रहने छभने देवी स्थान क्षेत्री आमा समुह, रुपा तालवेसी टोल बिकास संस्था, रुपा ज्योती मावि, रुपाकोट गाविस, रुपाताल पुनस्र्थापना तथा मत्स्य पालन सहकारी संस्था लिमिटेडको सहयोग रहने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...