फेवा महोत्सवमा पर्यटको बोलाउदै होटल संघ, पर्यटकका लागि थरी/थरी प्याकेज

पोखरा, १८ चैत /फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा संचालन हुने १५ औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ ।

संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान सुनाए । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको छ ।

महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले छुटसहितका विभिन्न ४ वटा प्याकेजहरु समेत सार्वजनिक गरेको छ । तिनमा दुई हजार नौ सय ९० रुपैयाँ देखि २१ हजार एक सय १० रुपैयाँ विचका घुमघाम, शैक्षिक भ्रमण, र मधुमासका दुई वटा गरी कूल ४ प्याकेज रहेका छन् ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको अध्यक्ष तुलाचनले बताए । विनासकारी भूकम्प, भारतीय नाकाबन्दी र नोटबन्दी तथा बाढी पहिरो लगायतका विविध घटनाका कारण अफ्ठ्यारोमा पारेको पर्यटनलाई उकास्ने उपायको रुपमा पनि महोत्सवलाई संघले लिएको जनाएको छ । अहिले पोखराको होटल क्षेत्रमा पर्यटकको अकुपेन्सी ५० देखि ६० प्रतिशत रहेको अध्यक्ष तुलाचनले सो अवसरमा जानकारी दिए ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने छन् । महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट कोमागाने पार्क सम्म सांस्कृतिक झाँकी सहितको ¥याली निक्लने छ । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष विकल तुलाचनको संयोजकत्वमा विभिन्न ३४ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा खानाका १० र अन्य ३० व्यापरिक गरी कूल ४० स्टल रहने छन् ।

नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, पर्यटक र डुंगा दौड, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुती, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण पनि महोत्सवले समेटेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा ५६ लाख आम्दानी, ४८ लाख ९५ हजार खर्च र सात लाख पाँच हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यति ब्रुअरीको अर्ना वियर महोत्सवको मुख्य प्रायोजक र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ । यति ब्रुअरीका क्षेत्रीय प्रतिनिधि केदार गौलीले प्रायोजकको रुपमा महोत्सवलाई सम्पूर्ण रुपमा सघाउने प्रतिबद्धता पत्रकार सम्मेलनमा सुनाए । संघले आइतबार नै विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिसँग आयोजना गरेको छलफल कार्यक्रममा फेवा महोत्सवलाई सक्दो सहयोग गरी सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कमेन्टहरु
Loading...