फेवा महोत्सवको तयारी पुरा

पोखरा, २८ चैत /भोली देखी २९ गतेबाट पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएर आयोजना हुन लागेको महोत्सवमा कूल २२ नेपाली खानाहरु समेटिने आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।

महोत्सवमा पर्यटक र अन्य आगन्तुक गरी कूल एक लाखले सहभागिता जनाउने अनुमान गरिएको सुनाउँदै तुलाचनले सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्र्रतियोगिता पनि यो पटकका आकर्षण रहने जानकारी दिए ।

पत्रकारले सोधेका जिज्ञासा शान्त पार्दै संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको जानकारी दिए । यसैगरी पराजुलीले अहिले पोखरामा होटलको अकुपेन्सी दर न्यून रहेको भन्दै चैत ३० गते रातिका लागि भने कोठाहरु अधिकांश बुक भएको जानकारी दिए ।

नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजना स्थलमा चैत ३० गते भ्रमण बर्षको सफ्ट ओपनिङ गरिने जानकारी दिए । स्थानीय विभिन्न संघसंस्थासँग मिलेर कार्यक्रमलाई भव्य बनाउन समन्वय भइहेको जानकारी पनि उनले दिए । कार्यक्रम घोषणा पोखरामा हुँदा यो शहरलाई पर्यटकीय राजधानी बनाउने अभियानमा टेवा पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

बोर्डको गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछाने भ्रमण बर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको जानकारी दिए । उनले गण्डकी प्रदेश सरकारले मनाईरहेको आन्तरिक पर्यटन बर्ष २०१९ लाई सफल बनाउन समेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको जानकारी दिए ।

फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ बर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । सेफ फेडेरेशनसँग मिलेर राष्ट्रियस्तरबाट छानिएका नेपाली खानाको प्रदर्शनी र विक्रीलाई पनि महोत्सवमा विशेष जोड दिइएको उनले सुनाए ।

महोत्सवकै प्रचारका लागि संघले काठमाडौं, जनकपुर, चितवन र लुम्बिनी जस्ता स्थानमा जाउँ है पोखरा अभियान पनि सम्पन्न गरिसकेको छ । संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ । महोत्सवलाई होटल संघ नेपाल र गण्डकी प्रदेश सरकारको पनि साथ रहेको छ । गोर्खा ब्रुअरीको काल्र्सबर्ग बियर मुख्य प्रायोजक रहेको महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको छ ।

कमेन्टहरु
Loading...