फेवा महोत्सवमा ४० हजार दर्शकले अबलोकन गर्ने अपेक्षा

पोखरा, ११ चैत / फेवा तालको संरक्षण गरौं भन्ने मुख्य नाराका साथ गत वर्ष झै यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यही चैत २९ देखि आगामी बैशाख २ गतेसम्म १४ औं फेवा नव वर्ष महोत्सव २०७४ आयोजना गर्ने भएको छ ।

दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको उक्त तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्य महोत्सवले लिएको संघका अध्यक्ष एवं महोत्सव संयोज बिकल तुलाचनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका बैदाम स्थित कोमागाने पार्कमा संचालन हुने महोत्सवमा आन्तरिक तथा बाह्य पाहुनालाई लक्षित गरी संघले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने छ । महोत्सव ४० हजार आन्तरिक तथा बाह्य पर्यटकले अबलोकन गर्ने अपेक्षा गरिएको उनले सुनाए । महोत्सव सम्पन्न गर्न ४८ लाख आठ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवबाट बचत भएको रकम वातावरण संरक्षणको क्षेत्रमा खर्च गरिने तुलचानले जानकारी दिए । महोत्सवमा आउने पाहुनालाई होटल र खानामा प्रदान गरिने छुटको घोषणा छिटै गरिने उनले सुनाए । भारतीय बजारमा पोखरालाई प्रचार गर्न चलिए पोखरा अभियान पनि तीन महिना पछि सुरु गरिने संघले जनाएको छ ।

नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको संघले जनाएको छ । अघिल्लो बैशाखको विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले थिलोथिलो पारेको पर्यटनलाई उकास्ने उपायको रुपमा पनि महोत्सव रहेको छ ।
संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा तालको संरक्षणका लागि संघले लामो समयदेखि काम गर्दै आएको जानकारी दिए । दुई वटा डुंगा व्यवस्था गरेर र डब्लुडब्लुएफ सँग मिलेर वातावरण संरक्षणको काम समेत गरेको उनले सुनाए । नेपाली संस्कृतिको जगेर्ना गर्दै दिगो र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय पनि महोत्सवको भएको उनले सुनाए ।

पाँच तारे होटलहरुदेखि पोखरा क्षेत्रका गाउँ घरमा पाइने खानाका परिकारहरु एकै थलोमा प्रदर्शन, प्रत्येक दिन विभिन्न स्थलबाट ल्याइएका साँस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, लोक दोहोरी, पप कन्सर्ट, बाल उद्यान, हांस्यव्यंग्यका कार्यक्रम पनि महोत्सवले समेट्ने छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहने छन् । महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट वसुन्धरापार्क सम्म सांस्कृतिक झाँकी सहितको ¥याली निक्लने छ । महोत्सव सम्पन्न गर्न विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव गणेशराज पहारीले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...