फेवा महोत्सव सफल पार्न पर्यटन व्यवसायी एकजुट

पोखरा, २३ चैत : यही चैत २९ गते देखि पोखराको कोमागाने पार्कमा आयोजना हुने १४ औं फेवा नव वर्ष महोत्सव २०७४ लाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाले व्यक्त गरेका छन् ।
फेवा तालको संरक्षण गरौं भन्ने मुख्य नाराका साथ आगामी बैशाख दुई गतेसम्म आयोजना हुने पाँच दिने महोत्सवलाई व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्नु अघि आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले अहिले विभिन्न संघसंस्थासँग छलफल गरिरहेको छ ।
यही क्रममा बुधबार आयोजित छलफलमा पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष केदार नाथ शर्माले परिषद्का सम्पूर्ण सदस्य संस्था र व्यक्तिगत रुपमा पनि फेवा महोत्सवलाई आफ्नै महोत्सव ठानी सघाउने प्रतिबद्धता व्यक्त गरे । हरेक पटक आयोजित फेवा महोत्सवको कारण पनि पोखरा आउने पर्यटक संख्यामा सकारात्मक प्रभाव परेको उनले सुनाए ।
रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले संघले आयोजना गर्दै आएको महोत्सवलाई सघाउने बताउँदै महोत्सवका कारण सबै पर्यटन क्षेत्रले लाभ लिन सक्ने स्मरण समेत गराए । टान पश्चिमाञ्चलका कार्यबाहक अध्यक्ष हरि भुजेलले महोत्सव सफल पार्न आफ्नो संस्था दत्तचित्त भएर लाग्ने बताउँदै कोमागाने पार्क बाहिर पनि महोत्सव विस्तार गरी सडक वरपर महोत्सव गर्न सके बढी भन्दा बढी पर्यटक रमाउने वातावरण सिर्जना हुने सुझाव राखे । नाट्टा पोखराका अध्यक्ष डिल्ली गौतममले आफ्नो समिति अन्तर्गतका सवारी साधनमा महोत्सव सम्बन्धी ब्यानर राखी प्रचारप्रशारमा सघाउन तयार रहेको बताए । उनले महोत्सवलाई सफल पार्न नाट्टा तयार रहेको भनाई राखे ।
फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले महोत्सवका अवसरमा आयोजना हुने डुंगा दौडका लागि आबश्यक समन्वय गरी विभिन्न घाटहरुमा त्यसको जानकारी दिई सघाउने प्रतिबद्धता सुनाए । ना पोखराका कार्यबाहक अध्यक्ष एवं सचिव इन्द्र भण्डारीले बन्द, हड्ताल र नाकाबन्दीले पर्यटन क्षेत्र संकटमा परेको भन्दै मेला महोत्सवले केही मात्रामा भए पनि पर्यटन प्रवद्र्धन गर्न सघाउने बताए । उनले पर्यटन क्षेत्रमा व्यवसायिक एकताको खाँचो पनि औंल्याए । टेसा पोखराका अध्यक्ष नारायण सुबेदीले महोत्सवमा केही न केही फरक पना महसुस हुने अवस्था सिर्जना गर्न सुझाव राख्दै झरी र हावाहुरीको मौसमलाई ख्याल गरी तयारी अगाडि बढाउन अनुरोध गरे ।
संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले महोत्सवमा एकल नृत्य, पर्यटक दौड र डुंगा दौड जस्ता गतिविधिका अतिरिक्त विभिन्न १० स्टलमा खानाका परिकार तथा अन्य ४० स्टलमा विविध वस्तु तथा सेवा रहने जानकारी दिए । उनले महोत्सव सबै पोखरेलीको महोत्सव भएको भन्दै सहयोगको लागि सबैसँग आग्रह गरे ।
आयोजक संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा महोत्सवलाई आफ्नो महोत्सवको रुपमा शोची संघको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनको लक्ष्यलाई सघाउन आग्रह गरे । उनले नेपाली संस्कृतिको रक्षा गर्दै फेवा ताल जोगाउने अभियान अन्तर्गत महोत्सव आयोजना गर्दै आइएको स्पष्ट पारे । संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव गणेशराज पहारीले गरेका थिए ।
कमेन्टहरु
Loading...