जाउँ है पोखराका प्याकेज काठमाडौंमा सार्बजनिक

काठमान्डौं, २६ चैत : चौधौं फेवा नव वर्ष महोत्सवको निम्ता बाँड्न काठमाण्डौं आएको पश्चिमान्चल होटल संघ पोखराको टोलिले शनिबार जाउँ है पोखरा कार्यक्रमका प्याकेजहरु सार्वजनिक गरेको छ । प्याकेज अन्तर्गत घुमघाम, शैक्षिक भ्रमण र मधुमास पोखरा समेटिएको संघका अध्यक्ष विकल तुलाचनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रति ब्यक्ति वा जोडिका लागि तीन हजार रुपैयाँदेखि २१ हजार रुपैयाँ विचको मूल्यमा प्याकेज हेरि फेवा तालमा बोटिङ, बन्जी जम्प, अल्ट्रालाइट फ्लाइट, दृष्याबलोकन जस्ता विविध सुविधाहरु समेटिएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै फेवा नव वर्ष महोत्सवका संयोजक तुलाचनले नेपाली संस्कृतिको जगेर्ना गर्दै फेवा तालको संरक्षण गर्ने उद्धेश्य महोत्सवले लिएको सुनाए ।

पोखरा सबै मौसमका लागि भन्ने उद्धेश्य समेत राखिएको महोत्सवमा खानाका १५ र ब्यापारिक ४५ गरी पाँच दर्जन स्टल रहने उनले सुनाए । डुंगा दौड, पर्यटक दौड र एकल नृत्य जस्ता आकर्षण समेट्ने महोत्सवले पर्यटन, संस्कृती र खानालाई जोड दिने छ ।

चैत २९ देखि आगामी बैशाख २ गतेसम्म पोखराको कोमागाने पार्कमा आयोजना हुने महोत्सवमा स्थानीय र पर्यटक गरी एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।पोखरा आउने नेपाली पर्यटकको संख्या बढ्दै गएको र ५० प्रतिशत अकुपेन्सी तिनै पर्यटकको भएको संघले जनाएको छ ।

संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले पत्रकारहरुलाई स्वागत गरेका थिए । पत्रकार सम्मेलनको आयोजक होटल संघ नेपालका वरिष्ठ अधिकृत लब कार्की र कार्यक्रम संयोजक रमेश पनेरुको पनि उपस्थिती थियो । नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गर्ने महोत्सव गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गर्दै छ ।

कमेन्टहरु
Loading...