एक्सपर्ट अवार्डको तयारी पुरा

पोखरा, २५ चैत / पोखरा क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले शुक्रबार अवार्ड वितरण गर्ने भएको छ । पोखराका विभिन्न कलेजबाट प्लस टु र ब्याचलर्समा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई यही अवार्ड वितरण गर्न लागिएको एक्सपर्ट पोखराका सञ्चालक रमेश थापाले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।

सिद्धार्थचोकस्थित एक्सपर्टको सभाहलमा हुने कार्यक्रममा ३० जना विद्यार्थीलाई नगद, मेडल र आकर्षक उपहारसहित अवार्ड प्रदान गरिने थापाले बताए । अध्ययनप्रति विद्यार्थीलाई प्रोत्साहन गर्न अवार्ड वितरण गर्न लागिएको उनको भनाइ छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस अन्तर्गतको एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई अवार्ड दिन लागिएको हो ।

‘फाउण्डेसन मार्फत हामीले विभिन्न सामाजिक काम गरिरहेका छौं,’ उनले भने, ‘यस पटक उत्कृष्ट विद्यार्थीलाई अवार्ड दिन लागेका हौं । यो अवार्डलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।’ फाउण्डेसनले यस अगाडि रसुवामा भूकम्पबाट भत्किएको एउटा विद्यालयको भवन १६ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको थियो । अवार्ड वितरणसँगै सोही अवसरमा अष्ट्रेलियन सेमिनारसमेत हुने थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...