पर्यटकीय क्षेत्रमा डस्टविन वितरण

पोखरा, २९ वैशाख /पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाई तथा निओकस कन्सर्न प्रालि नागढुंगा पोखराकोे सहयोगमा पोखराको लेकसाइड तथा ड्यासाइड क्षेत्रमा ५० वटा डस्टविनहरु निःशुल्क वितरण गरिएको छ ।

शनिवार लेकसाइडमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण प्रहारीलाई ४० वटा डस्टविन हस्तान्तरण गरेका थिए । यसैगरी अध्यक्ष तुलाचनले ड्यामसाइड क्लबका महासचिव कृतिवल्लभ त्रिपाठीलाई १० वटा डस्टविन प्रदान गरेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । ती डस्टविनहरु आबश्यकता अनुसार लेकसाइड र ड्यामसाइड क्षेत्रमा प्रयोगमा ल्याइने छन् ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष तुलाचनले सरसफाई मानव जीवनको अभिन्न पक्ष भएको भन्दै पर्यटकीय क्षेत्रमा सरसफाई झनै आबश्यक पर्ने स्मरण गराए । संघले सरसफाईको क्षेत्रमा विभिन्न समयमा विविध गतिविधि समेत गर्दै आएको भन्दै उनले डस्टविन सहयोगका लागि निओकसलाई धन्यवाद दिए ।

निओकस कन्सर्न प्रालि पोखराका प्रबन्ध निर्देशक इन्जिनियर सरोज कायस्थले आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकीय क्षेत्रलाई सफा राखी फोहर व्यवस्थापन गर्न डस्टविन वितरण गरेको कार्यक्रममा बताए । संघसँग हातेमालो गरेर काम गर्न पाउँदा आफ्नो संस्था खुशि भएको उनले सो अवसरमा सुनाए । कार्यक्रममा वडा सदस्य पहारी र ड्यामसाइड क्लबका महासचिव त्रिपाठीले पनि भनाई राखेका थिए ।

एयर कन्डिसनरको मर्मत तथा ग्रि एयर कन्डिसनरको आधिकारिक विक्रेताको रुपमा निओकसले काम गर्दै आएको जानकारी पनि कायस्थले दिए । निओकसको अर्थ संस्कृतमा सुविधाजनक (कम्फर्ट) भनेर बुझिने पनि उनले सुनाए । निओकसका बजार प्रमुख दीपकिरण गौतम, वडा समन्वय समिति बैदामका संयोजक गिरिराज अधिकारी तथा समाजसेवी रामराज पहारीको पनि कार्यक्रममा उपस्थिति थियो ।

कमेन्टहरु
Loading...