ढोरपाटन र आसपासको प्रवद्र्धनात्मक अवलोकन भ्रमण सुरु

पोखरा, १८ चैत /नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस्(नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आइतबार देखि ढोरपाटन र आसपासका क्षेत्रको क्षेत्रको प्रवद्र्धनात्मक अवलोकन भ्रमण सुरु भएको छ । ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चार दिने भ्रमणको आयोजना गरिएको हो ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वमा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा सहित पर्यटन सम्बद्ध संस्थाका कृयाशिल पर्यटन व्यवसायी र सञ्चारकर्मीको तीस सदस्यीय टोलीलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले आज पोखरामा विदाई गर्नुभयो ।

विदाई कार्यक्रममा मन्त्री लम्सालले प्रदेश नं ४ को समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको बताउँदै सरोकारवालासँगको सहकार्यमा यसको विकास अघि बढाइने बताउनुभयो । पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि त्यसको पहिचान अपरिहार्य भएकोमा उहाँको जोड थियो ।

अवलोकन भ्रमणबाट फर्केपछि त्यहाँका सम्भावना लगायतका विषयमा भ्रमण टोलीसँग मन्त्रालयमा नै अन्तरक्रिया गरिनेमा मन्त्री लम्सालको जोड थियो । भ्रमणका क्रममा उक्त क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवालाबीच अन्तरक्रिया गरिने नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

“पर्यटकीय रुपमा ख्याती कमाएको ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै उक्त क्षेत्रका पर्यटन व्यवसायीलाई पोखराको पर्यटनसँग जोड्नु भ्रमणको मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो, “भ्रमणका क्रममा त्यस क्षेत्रका पर्यटन व्यवसायीबीचको साझेदारी लगायतका विषयमा पनि छलफल गरिने छ ।” कार्यक्रम संयोजक कुलचन्द्र शर्माका अनुसार अध्ययन भ्रमण सकेर भ्रमण टोली २१ गते पोखरा फर्कने छ ।

कमेन्टहरु
Loading...