दसैंको मुखमा खसीको मासुको मूल्यमा वृद्धि, उपभोक्ता मञ्च असन्तुष्ट

पोखरा, २३ असोज /पोखरामा मासु व्यावसायीले आजदेखि खसीको मासुको मूल्य बढाएको भन्दै उपभोक्ता मञ्च, कास्कीले विरोध जनाएको छ । दसैंको मुखमा आएर मासु व्यावसायी समितिले मासुको मूल्यमा वृद्धि गर्नु उपभोक्ताको हितविपरीत हुने भन्दै मञ्च, कास्कीले कडा विरोध गरेको हो ।

विजया दशमी तथा दीपवदली र छठ पर्वका आयोजित शुभकामना आदानप्रदान कार्यक्रम एवम् मञ्च कास्कीको आज बसेको कार्य समितिको बैठकमा सो निर्णयको विरोध गरिएको हो । मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले प्रतिकिलो ७ सय ४० रुपैयाँको मासु मनोमानी ढङ्गबाट व्यावसायीले ८ सय रुपैयाँ पु¥याएको बताउनुभयो । मूल्य निर्धारणका क्रममा सरकारी प्रतिनिधि र उपभोक्ता मञ्चको समेत प्रतिनिधित्व हुनुपर्नेमा व्यावसायीले एक पक्षीय निर्णय गरेको भन्दै मञ्चले आक्रोस व्यक्त गरेको छ । उता, चितवनमा प्रशासनले खसीको मासुको मूल्य प्रतिकिलो ६ सय ५० तोकिदिएपछि व्यावसायीले ७ सय बनाउनुपर्छ भनेर खसीको मासुसमेत बिक्री गर्न विगत ११ दिनदेखि बन्द गरेका बेला पोखरामा भने ८ सय रुपैयाँ पु¥याइएको हो ।

त्यसै गरी, दसैंका लागि ल्याइने भेडा च्याङ्ग्रा राख्ने स्थानको उचित प्रबन्ध मिलाउन र व्यावसायीलाई अनावश्यक कर लगाउने र सो बापत व्यावसायीले उपभोक्तासँग असुलउपर गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि अध्यक्ष कोइरालाले माग गर्नुभयो । कार्यक्रममा वक्ताहरुले विभिन्न संघसंस्थाको नाममा एक बथान च्याङ्ग्राबाट ५० हजार रुपैयाँसम्म कर लिने गरेकोमा विरोध जनाएका छन् । भेडा च्याङ्ग्रा राख्नका लागि सार्वजनिक चौरहरु अमरसिंह, टुडिखेल, मालेपाटन, हेमजाको याम्दी, मुस्ताङचोकलगायतका ठाउँहरु खोज्नका लागि सम्बन्धि निकायलाई सुझावसमेत दिइएको छ ।

कार्यक्रममा बोल्दै मञ्चका उपाध्यक्ष रमेश पौडेलले जिउँदा खसीबोकाको मूल्य यथाशिघ्र तोक्न सम्बन्धित निकायसँग माग गर्नुभयो । सिङ्गो खसीको अनुमानित मूल्य गर्दा उपभोक्ताहरु ठगिँदै गएकोमा उपभोक्ता स्वयम् नै सचेत हुन पनि पौडेलले आग्रह गर्नुभयो । मञ्चका केन्द्रीय सदस्य ध्रुव चालिसे, सदस्यहरु ओमराज गौतम, इविन्द्र तिवारी, कमल अथक, विष्णुहरि पौडेललगायतले मासुको गुणस्तर हेरेर मात्र उपभोक्तालाई चाडपर्वका बेला मासु सेवन गर्न आग्रह गर्नुभयो । मञ्चले सरकारी तवरबाट भइरहेको अनुगमनलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन पनि आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...