इसुजु सिंगल क्याब गाडी पोखरामा

पोखरा, १३ चैत/जापानी ब्रान्ड इसुजुको आधिकारिक बिक्रेता रेज मोटर्स प्रालिले पोखरामा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडीको विक्रि शुरु गरेको छ । रेज मोर्टर्सको पोखरा नयाँ बजारस्थित सोरुममा इसुजु सिंगल क्याब गाडी विक्रि शुरु गरेको रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले जानकारी दिए ।

लञ्चिङ कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्मार्ट सिटीलाई सहयोग पुग्ने खालका सवारी साधन प्रयोगमा ल्याउन आग्रह गरे । महानगरभित्र प्रदूषण कम हुने खालका गाडीको प्रयोगमा प्रोत्साहन महानगरले प्रोत्साहन गरिरहेको उनको भनाई छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारी, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन अध्यक्ष चन्द्रबहादुर कुँवरले शुभकामना व्यक्त गरे ।

जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै इन्जिन उत्पादन र बाँकी सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको छ । ‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी’ थिम लिएर नेपालको बजारमा आएको यो गाडीमा ३ टन सम्म सामान ओसारपसार गर्न सकिन्छ । २५ सय सिसी क्षमताको इन्जिन भएकाले नेपालको पहाडी र कच्ची बाटोको लागि समेत निकै उपयोगी मानिएको छ । हाल यसको बजार मूल्य २४ लाख ९० हजार कायम गरिएको छ ।

क्याबिन आरामदायी जीपको जस्तो र पछाडिको भाग अर्थात् डेक मिनी ट्रकको जस्तो भएकाले सामान ओसारपसारका लागि यो गाडी उपयुक्त मानिएको छ । कम्पनीका अनुसार सिंगल क्याब डी म्याक्स डेकको लम्बाइ ८ फिट र चौडाइ साढे ५ फिट छ ।

रेज मोटर्स कम्पनीका प्रबन्ध निर्देशक अशोक चालिसेले भन्नुभयो,‘कच्ची बाटोमा समेत सामानसहित गुड्न सक्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो गाडी निकै उपयुक्त छ ।’ बिक्रीपछिको सेवाका लागि पनि कम्पनीले विशेष व्यवस्था गरेको छ । स्प्ल्यास ह्वाइट, टाइटेनियम सिल्भर, अब्सिडियन ग्रे र अर्किड ब्राउन गरी ४ कलरमा यो गाडी उपलब्ध छ ।

रेज मोर्टसले पोखराबाटै इसुजुकै डबल क्याबिनयुक्त सुविधासम्पन्न गाडी समेत बिक्री गर्दै आएको छ । भरपर्दो इञ्जिन भए पनि अरु गाडीको तुलनामा निकै सस्तो रहेको दाबी कम्पनीको छ । सामानसहित परिवारसमेत अट्नसक्ने यो गाडीको नेपाली बजारमा मूल्य ४१ लाख रुपैयाँ छ ।

फोर ह्विलसमेत भएको इसुजुकै डबल क्याब जीपको भने ६५ लाख बजार मूल्य छ ।
यसैगरी नेपाली ग्राहकको मन जित्न सफल इसुजु मक्स पनि रेज मोटर्सले पोखराबाट बिक्री गर्दै आएको छ । ७ सिट क्षमताको ग्राउन्ड क्लियरेन्स २ सय ३५ एमएम भएको यस गाडीमा अटो गियरको सुविधासमेत छ । यसको बजारमूल्य १ करोड ३७ लाख छ ।

पोखरामा सो रुम खुलेको १५ महिनाको अवधिमाइसुजु ब्रान्डका विभिन्न मोडलका ७५ भन्दा बढी गाडी बिक्री भएको र प्रयोगकर्ताबाट पनि सकारात्मक प्रतिक्रिया आएको रेज मोटर्सका प्रवन्ध निर्देशक अशोक चालिसेले बताउनुभयो । आगामी दिनमा समेत ग्राहकको चाहना अनुसारका बिक्री र सेवाको सुविधा थप गर्दै जाने कम्पनीले जनाएको छ ।

कमेन्टहरु
Loading...