क्रस दी बोर्डरमा राष्ट्र बैंकमा कार्यकारी निर्देशक

पोखरा, २२ चैत/उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम’ को अर्काे फरक शृंखला चैत २३ गते शुक्रबार हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोक स्थित होटल स्नोल्यान्डकै हलमा हुने भएको हो ।

कार्यक्रमको यो शृंखलामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापालाई निम्त्याएको होटल सञ्चालक गणेशबहादुर थापाले बताए । राष्ट्र बैंकमा अनुसन्धान विभाग नेतृत्व गरिरहेका नरबहादुर थापा अर्थतन्त्रबारे बृहत् दखल राख्ने विज्ञ मानिन्छन् । नेपाल सरकारको आर्थिक सल्लाहकार मानिने राष्ट्र बैंकको अनुसन्धान विभागले माइक्रो इकोनोमिक डेटा खोजी र प्रशोधन गरी सार्वजनिक गर्छन् । समष्टिगत रुपमा अर्थतन्त्रको तथ्यतथ्यांक अनुसन्धान उक्त विभागको मूल जिम्मेवारी हो ।

विभागले मौद्रिक नीतिको प्रारम्भिक मस्यौदा पनि तयार पार्छ । थापाले उक्त कार्यको अनुगमन र निरीक्षण गर्छन् । सरकारले बजेट बनाउनु अघि पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन बुझाउने काम पनि थापा नेतृत्वको विभागले गर्छ । अन्तर्राष्ट्रिय मुद्राकोशमा २ वर्ष काम गरेको अनुभव संगालिसकेका थापाले बम्बे विश्वविद्यालयबाट अर्थशास्त्रमा मास्टर्स र बेलायतको स्कटल्यान्डस्थित ग्लासको विश्वविद्यालयबाट एमफिल गरेका छन् ।

उक्त कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभान्वित हुने आशा गरिएको आयोजक होटल सञ्चालक थापाले बताए । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...