राहत प्याकेज माग्दै पोखरेली पर्यटन व्यवसायी काठमाडौंमा

पोखरा, २ चैत / पोखराका पर्यटन तथा उद्योगी/व्यवसायीहरुले कोरोना महाव्याधीका कारण उद्योग/व्यवसाय क्षेत्रमा देखिएको समस्या सल्टाउन ‘संकट व्यवस्थापन कर्जा प्रवाह’को लागि सरकारसँग माग गरेका छन् । उनीहरुले संकटका कारण व्यवसाय बन्द भए मानव संशाधन नै तितरबितर हुने अहिले नै व्यवसाय बचाउन आवश्यक रहेको तर्क पनि गरेका छन् ।

पोखराको उद्योगी÷व्यवसायीहरुको प्रतिनिधिमण्डलले आइतबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै सो माग राखेको प्रतिनिधिमण्डका सदस्य तथा पोखरा उद्योग वाणिज्य संघ पोखराका महासचिव अर्जुन पोखरेलले बताए ।

उनका अनुसार ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलेले निजी क्षेत्रले उठाएका मागहरुप्रति सरकार संवेदनशील भएको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना भाइरसको महाव्याधीबाट बच्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।

अर्थमन्त्री युवराज खतिवडाले कोरनाले अर्थतन्त्रमा पारेको प्रभाव र यसबाट बच्ने उपायबारे निजी क्षेत्रका छाता संस्थाहरुसँग निरन्तर संवाद चलिरहेको जानकारी दिए । यता, पर्यटनमन्त्री भट्टराईले कोरोनाको कारण नेपाल भ्रमण वर्षमा पारेको असर परेको स्वीकार्दै भ्रमण वर्षका कार्यक्रमहरु लम्ब्याउनेबारे तयारी थालिएको जानकारी दिए ।

पोखरेली व्यवसायीहरुको तर्फबाट मन्त्रीहरुलाई बुझाइको ज्ञापनपत्रमा अहिलेको अवस्थामा लिइएको कर्जाको ब्याज र किस्ता तिर्न नसकिने भएकाले कर्जाको पुनर्तालिकीकरण गर्ने र कर्जा र ब्याजसहित अन्य दायित्व चुक्ताको समयसीमा १ वर्ष बढाउन पनि माग गरिएको छ ।

परिषदको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा पुनर्तार्जकीमार्फत कर्जाको ब्याजदर घटाउन पनि माग गरिएको छ । पर्यटन व्यवसायीहरुले लिएको कर्जालाई पुनःकर्जा दिई ब्याजदर घटाउने तथा बिलम्ब र जरिवाना शुल्कसमेत मिनाहा गर्दै विभिन्न प्रशितशतमा कर्जा नोक्सानी व्यवस्था मिलाउन पनि व्यवसायीहरुले माग गरेका छन् । पर्यटन व्यवसायीहरुसँग स्थानीय निकायहरुले लिँदै आएको विभिन्न शुल्क र करमा ५० प्रतिशत छुट हुनुपर्ने माग पनि उनीहरुको रहेको छ । यसैगरि ज्ञापनपत्रमा प्रत्येक प्रदेशमा भरपर्दो र विश्वासिलो क्वारेण्टाइन सेण्टर बनाउन माग पनि गरिएको छ ।

यसअघि फागुनको अन्तिम साता सम्पन्न पर्यटन र उद्योग/वाणिज्य क्षेत्रका संघ/संस्थाको भेलाले नेपाल भ्रमण वर्ष २०२० का सहसंयोजक अग्नीप्रसाद कँडेलको संयोजकत्वमा ‘पर्यटन संकट व्यवस्थापन समिति’ गठन गरिएको थियो । सोही समितिले आइतबार मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएको हो ।

सोही भेलाले कोरोनाकै कारण पोखराको होटल क्षेत्रको अकुपेन्सी १० प्रतिशतको हाराहारीमा झरेको तथा उद्योग/व्यवसायमा प्रतिकुल असर परेको निष्कर्ष निकालेको थियो । यसैगरि पर्यटन क्षेत्रले बैंकबाट ऋण लिएको उल्लेख गर्दै वर्तमान अवस्थामा उच्च ब्याजदर र किस्ताको रकम तिर्न नसकिने उनीहरुले घोषणा गरेका थिए ।

ज्ञापनपत्रमा नेपाल भ्रमण वर्ष २०२० का गण्ढडकी सहसंयोजक अग्नीप्रसाद कँडेल सहित नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्यहरु गणेशबहादुर भट्टराई,विप्लव पौडेल,बासुदेव त्रिपाठी र टीकाराम सापकोटा, पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेल, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल, वर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, वर्तमान उपाध्यक्ष गोपी भट्टराई, महासचिव डिल्लीप्रसाद गौतम, होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुली, वरिष्ठ पर्यटन

व्यवसायी नरेशबहादुर भट्टराई, टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल,रेवानका अध्यक्ष भिमसेन भुजेल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन,नाट्टा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल,टेसाका अध्यक्ष रामचन्द्र गिरी,नाका अध्यक्ष कृष्णप्रसाद भण्डारी,नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष शेषकान्त शर्मा, गाउँ पर्यटन मञ्चका अध्यक्ष नवराज अधिकारी, नेपाल पर्यटक यातायात व्यवसायी संघ,गण्डकीका अधयक्ष बोबरजंग गुरुङ, इम्ब्रोइडरी एण्ड गार्मेण्ट सप एसोसियसन पोखराका अध्यक्ष शंकर भट्टराई र पोखरेली ट्याक्सी व्यवसायी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारी हस्ताक्षरसहित ऐक्यवद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...