पोखरामा को–अपरेटिभ इन्भेष्टमेन्ट समिट

पोखरा, १६ चैत/सेन्ट्रल को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) को आयोजनामा पोखरामा बिहीबारदेखि ‘को–अपरेटिभ इन्भेष्टमेन्ट समिट’ बिहीबार देखि सुरु भएको छ ।

दुुई दिनसम्म चल्ने सम्मेलनको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरे । लगानीको लागि कोप्स मोडल स्थापित गर्ने, बृहत् लगानीको वातावरण बनाउने, देशलाई उत्पादनमार्फत औद्योगिक क्रान्तिको दिशामा अघि बढाउने, विभिन्न प्रोजेक्ट बैंकबारे छलफल तथा निर्णय लिने उद्देश्यसहित उक्त सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा फोहर मैला व्यवस्थापन र उद्योगको सृजना, सहकारी साख सूचना, सहकारी रेमिट्यान्स, सहकारी चेक क्लीयरिङ हाउस, सहकारी भुक्तानी लगायत स्थापनाका लागि छलफल एवं लगानीको प्रतिबद्धता जनाउने उद्देश्य सम्मेलनको रहेको छ ।

त्यस्तै, कोप्स मोडलमा विभिन्न प्रोजेक्ट बैकमा छलफल गर्ने, रासायनिक मल कारखाना स्थापना, पोखरा पञ्चासे केवुलकार परियोजना र पर्यटकीय गाउँको सिर्जनाबारे पनि छलफल गरी करिब ६ अर्बको लगानीको प्रतिबद्धता हुनेछ ।

मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्धि र विकासको प्रचूर सम्भावना भनेको यहाँको पर्यटन, कृषि, जलविद्युत्, खानीजन्य पदार्थ रहेको हुँदा यसको अधिकतम् प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले ५ वर्षमा प्रतिव्यक्ति आय वार्षिक ५ लाख पु¥याउने, आर्थिक वृद्धिदर १० प्रतिशत बढाउने, ३ हजार मेगावाट जलविद्युत् आयोजना उत्पादन गर्ने, कृषिलाई आधुनिकीकरण गर्दै जाने बताए । साथै उनले सहकारी, निजी र सरकार मिलेर आर्थिक समृद्धि र विकासमा अघि बढ्नुपर्ने बताए ।

प्रदेश ४ का आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले प्रदेशसभाले लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले सेन्ट्रल को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटीले ल्याएको यो प्रोजेक्ट मेघा प्रोजेक्ट भएको भन्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेतर्फबाट कास्कीका कार्यालय सचिव भीम कार्की, काँग्रेसका तर्फबाट सांसद कुमार खड्का, काँग्रेस कास्कीका सभापति कृष्ण केसी, दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य युवराज पराजुली, राष्ट्रिय सहकारी संघका केन्द्रीय प्रतिनिधि तथा एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारी, माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य झलकपाणि तिवारी, संस्थाका महासचिव रामचन्द्र शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम अध्यक्षता ग्रहणसमेत गरेका कोप्स अध्यक्ष डिल्लीराम बरालले सहकारीको पुँजी औद्योगिक क्षेत्रमा लगानी गर्दै जाने सेन्टरले वैज्ञानिक योजना बनाउँदै अघि बढ्ने बताए ।

कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन संस्थाका संचालक दुर्गाकुमारी आचार्य, सञ्चालन पत्रकार बिमला भण्डारी, धन्यवाद ज्ञापन सल्लाहकार टोपबहादुर ढुंगानाले गरेका थिए ।

उद्घाटनपछिको पूर्णसत्रमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सहकारीको लगानीको सम्भावना र राष्ट्रिय व्यवसथापक संघका कोषाध्यक्ष दिलीपराज पौडेलले सहकारीको लगानीको क्षेत्रबारे कार्यपत्र प्रस्तुत गरेको महासचिव रामचन्द्र शर्माले जानकारी दिए । सयपत्र सहकारी अध्यक्ष विश्वराज बास्तोलाले कार्यपत्रमाथि टिप्पणी गरे ।

दोस्रो दिनको उद्घाटन प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गर्ने कार्यक्रम छ । उक्त दिन विभिन्न ३ विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ । जसमा प्रदेशका पर्यटन मन्त्री, कृषि मन्त्री, सांसद, कृषि सचिव लगायतको उपस्थिति हुनेछ ।

सम्मेलनमा प्रदेश ४ का विभिन्न राजनीतिक दलले प्रतिबद्धता समेत जनाउने र पोखरा सम्मेलन घोषणापत्र जारी गर्दे सम्मेलन सकिने कोप्स अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

सम्मेलनमा प्रदेशका ४ का ११ जिल्लाका प्रत्येक सहकारीबाट कम्तिमा अध्यक्ष, व्यवस्थापक र प्रतिनिधिसहित कम्तिमा ३ जना गरी झण्डै एक हजार जनाको सहभागिता छ । कोप्सले यो सहित सात वटै प्रदेशमा इन्भेष्टमेन्ट समिट गर्ने लक्ष्य लिएको छ ।

कमेन्टहरु
Loading...