सहकारी ठूलो हैन असल बनाउनुस् ः गुरुङ

पोखरा, ३ भदौ/नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का सञ्चालक समिति सदस्य तथा प्रदेश संयोजक भीम गुरुङले सहकारीहरु ठूलो भन्दा असल बन्न जरुरी रहेको बताएका छन् । बुद्ध बचत तथा ऋण सहकारी संस्था बुद्ध बिशालबजार महेन्द्रपुलको दशौं साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सहकारी ठूलो मात्रै भएर नहुने भन्दै त्यो असल भयो भने मात्रै सहकारीको उद्धेश्य पूरा हुने बताए । उनले सहकारी असल भयो भने शेयर सदस्यलाई बढी फाइदा पुग्ने बताए ।

सहकारीलाई पनि ब्राण्डिङ गर्न जरुरी रहेको बताउँदै सहकारी ब्राण्डिङ भएमा मात्र अन्यले शेयर सदस्य बन्न र लगानी गर्न चाहने उनको भनाई थियो । उनले सहकारीलाई लगानी थपेर ठूलो बनाउने वा मर्जमा गएर लगानी बढाउने भन्ने २ मध्ये एक बाटो रोजेर सहकारी ऐनसँग मेलखाने योजना बनाएर त्यसलाई कार्यान्वयन गर्न सोहि अनुसारको गतिविधी गरेर उत्कृष्ट संस्था बन्न सुझाव दिए ।

बुद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा सहकारी संघ कास्कीका सदस्य वलराम गौतमले एउटा व्यक्ति कुनै एउटा सहकारीको मात्र सदस्य बन्न पाईने नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । कास्की बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति संयोजक रुद्रनाथ पौडेलले नियमित बचत नै सहकारीको मूल मेरुदण्ड भएकाले यसलाई सबैले ध्यान दिन सुझाव दिए ।

सहकारीको साधारणसभामा उत्कृष्ट कर्मचारीको रुपमा सुनिता खत्री सम्मानित भए । त्यस्तै, संस्थाका शेयर सदस्यका छोराछारी मध्ये दश जोड दुई कक्षामा उत्कृष्ट अंक ल्याउने ईन्द्रमाया गुरुङकी छोरा अतिश गुरुङ । स्नातक तहमा उत्कृष्ट अंक ल्याउने झलकलाल जोजिजुका छोरी रश्मी जोजिजुलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, शेयर सदस्यका अभिभावक मध्ये मातातर्फ देवकृष्ण काफ्लेकी ८१ वर्षिया आमा द्रोर्णकुमारी काफ्ले र पिता तर्फ प्रेमकुमार गुरुङका बुबा पदमसिंह गुरुङलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो । साधारणसभामा सहकारीको शेयर सदस्यतर्फ उत्कृष्ट बचत कर्ताको रुपमा थमनसिंह गुरुङ, पुष्पा श्रेष्ठ र शंकरलाल खेतान तथा असल कर्जातर्फ राजेन्द्र भण्डारी र श्याम विक सम्मानित भए ।

सहकारीका अध्यक्ष नगेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्यहरु देवकृष्ण काफ्ले, गीता तिवारी गौतम, बुद्ध बिशालबजार ब्यापारिक एशोसियसनका अध्यक्ष प्रदीपकुमार मुल्मी, जनकल्याण सहकारी संस्थाका एकनारायण पनेरु, संस्थाका उपाध्यक्ष ध्रुवप्रसाद रेग्मी र सचिव बासुदेव पराजुलीले बोलेका थिए ।

सहकारीको शेयर सदस्य ६२८ जना रहेका छन् । सहकारीको चुक्ता पुँजी २ करोड ४८ हजार ७ सय छ भने बचत १३ करोड, ५१ लाख ६८ हजार ८ सय २९ रुपैया रहेको जनाइएको छ ।

कमेन्टहरु
Loading...