नेफ्स्कूनको फिल्ड कार्यालय पोखरामा खुल्ने

पोखरा, १० फागुन /नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले पोखरामा फिल्ड कार्यालय खोल्ने भएको छ । आगामी बुधबार कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापन उपसमितिका सदस्य तथा कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले जानकारी दिए ।
कार्यालयको शुभारम्भसँगै सदस्यता वितरण र कारोबार प्रारम्भ पनि हुनेछ । कास्की, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थालाई कार्यालयले वित्तीय कारोबार, तालिम र सहकारी सम्बन्धी अन्य गतिविधिहरुमा सहयोग पु¥याउनेछ । कार्यालय उद्घाटनसँगै सहकारीकर्मीहरुको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि हुने गुरुङले जानकारी दिए ।

नेफ्स्कूनले केन्द्रीय कार्यालयबाहेक देशका विभिन्न स्थानमा १० वटा फिल्ड कार्यालय खोलिसकेको नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले जानकारी दिए । ७३ जिल्लामा कारोबार गरेको संघले करिब २ हजार २ सय सहकारी संघसंस्थालाई समेटेको छ । नेफ्स्कूनले हालैमात्र काठमाडौंको नयाँ बानेश्वरमा जग्गा खरिद गरी आफ्नै भवन बनाउने तयारी गरेको छ । संघमार्फत हाल २ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भइरहेको उनले बताए ।

कमेन्टहरु
Loading...