ताङतिङमा चैतेदशै मेला हुने

पोखरा, १२ चैत्र/ताङतिङ युवा क्लवले मादी गाउँपालिका वडा नं. २ ताङतिङमा चैत्र २२ गतेदेखि २५ गतेसम्म ताङतिङ चैते मेला २०७३ गर्ने भएको छ । ताङतिङ गाँउको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, स्थानिय मौलिक कला सँस्कृति संरक्षण एंव प्रवद्र्धन, होमस्टेको विकासलाई सहयोग र क्होला सोंथर लगायतको ऐतिहासिक थलोहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले ताङतिङ युवा क्लवद्धारा मेला आयोजना गरिएको शनिवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

चैत्र २२ गते ताङतिङ खेल मैदानस्थित विशेष समारोहमा मेलाको सुपर मादी हाइड्रो पावरका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले गर्नुहुने भएको छ । मेलामा पुरुष भलिबल, महिला भलिबल, पुरुष बास्केटबल, छेलो प्रतियोगिता लगायतका खेलहरु हुने भएको छ भने स्थानिय कलाकारहरुबाट मेला अवधिभर दैनिक विविध साँस्कृतिक प्रस्तुति गर्ने क्लवमा अध्यक्ष क्षेत्र गुरुङले जानकारी दिनुभयो । मेलाकै अवसरमा विश्वकै कान्छो प्याराग्लाइडर ताङतिङ कै १५ वर्षिय युकेश गुरुङ सराङकोटबाट प्याराग्लाइडिङ गरी ताङतिङमा अवतरण गर्ने हुनुभएको छ ।

मेलामा आयोजित पुरुष भलिबलका विजेताले ५० हजार, उपविजेता २५ हजार, महिला भलिवल ५० हजार, उपविजेताले २५ हजार, बास्केटबल विजेताले ५० हजार, उपविजेताले २५ हजार नगदसहित, ट्रफी, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने क्लवका सचिव भोजबहादुर गुृरुङले जानकारी दिनुभयो । यसरी नै गुरुङहरुको परम्परागत खेल छेलो प्रतियोगिताका विजेता १० हजार र उपविजेता ५ हजार रुपैयासहित पुरस्कृत हुने बताइएको छ ।

मेला सम्पन्न गर्नका लागि करिब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । ताङतिङमा चैते दशैको अवसरमा आयोजना गरिने मेला २०४० सालदेखि शुरु भएको र ताङतिङ युवा क्लवले निरन्तरता दिदै आएको क्लवका सल्लाहकार, समाजसेवी बेदबहादुर गुरुङ श्यामले जानकारी दिनुभयो । उहाँले आगामी वर्षमा मेलालाई नयाँ सिर्जनात्मक कार्यक्रमहरु र ताङतिङको पहिचान हुने विशेष प्याकेजका साथ आयोजना गर्ने सोंचमा रहेको बताउनुभयो ।

क्लवका सल्लाहकार, हिमालय मिलन माविका प्राचार्य ओमप्रकाश गुरुङले ताङतिङमा हाल दर्ता भएको १० होमस्टे, २ बटा होटल र १५० घर पाहुना राख्नका लागि सुविधासम्पन्न रहेकाले मेला अवलोकन गर्ने पाहुनाहरुलाई बसोबासको लागि कुनै समस्या नहुने बताउनुभयो ।

दुधपोखरी तमु समाजका उपाध्यक्ष सुवेदार जसबहादुर गुरुङले जलश्रोतको धनि ताङतिङ आलु, चोयाका सामग्री, भाङ्ग्रा लगायत स्थानिय उत्पादनका लागि पहिले देखि नै चर्चा रहेको गाँउ भएकाले मेलामा स्थानिय उत्पादनको प्रवद्र्धन भईरहेको बताउनुभयो । क्लवका अध्यक्ष क्षेत्र गुरुङको अध्यक्षता, सचिव भोजबहादुर गुरुङको संचालनमा भएको पत्रकार सम्मेलनमा सल्लाहकार थमन गुरुङले स्वागत गर्नुभएको थियो ।

समुद्री सतहदेखि १६ सय ५० मिटर उचाई र पोखरादेखि उत्तरपुर्वी २३ किमी सडक दुरीमा रहेको प्राकृतिक तथा साँस्कृतिक रमणीय गुरुङ गाँउ ताङतिङ जानका लागि पोखरा १३ काहुखोलाबाट नियमित बस संचालन छ । करिब डेढ घण्टामा पुगिने ताङतिङको उक्त मेलाको अवसरमा यातयातका लागि पोखरा बस व्यवसाय समितिसँग थप बसको व्यवस्थाका आयोजकले आग्रह गर्ने क्लवका अध्यक्ष क्षेत्र गुरुङले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...