चिनिया भाषाका ५० प्रशिक्षार्थीलाई प्रमाणपत्र

पोखरा, २७ भदौ/पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा असार २५ गतेबाट सुरु भएको दुई महिने चिनिया भाषा तालिमका प्रशिक्षार्थीलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सघाएको तालिममा होटल क्षेत्रका ५० जना सहभागी थिए ।

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले प्रकृति र संस्कृतिका माध्यमबाट नै नेपाली पर्यटन उद्योगले उच्चता हासिल गर्दै गएको बताए । यसअघि सिजन र अफ सिजन भनेर पोखरामा पर्यटनलाइ बुझ्ने गरिएको भए पनि हालका वर्षमा चिनिया पर्यटक पोखरामा बढ्न थालेपछि अफ सिजन विस्तारै लो सिजनमा परिणत हुन थालेको उनले बताए ।

मुस्ताङमा अवस्थित कोरला नाकाको निकै चर्चा हुने गरेको बताउँदै उनले यो नाका स्थायी रुपमा खुलेपछि पोखरा आउने चिनिया पर्यटकको संख्या वृद्धि हुने विश्वास लिए । सो अबसरमा संघका प्रथम उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष विकल तुलाचनले प्रतिबद्ध भएर चिनिया भाषाको कक्षामा दुई महिनासम्म बसेकोमा प्रशिक्षार्थीहरुको प्रशंशा गरे । चिनिया भाषाको केही मात्रामा भए पनि ज्ञान भए त्यसबाट धेरै फाइदा लिन सकिने उनले बताए ।

भाषा भनेको संबादको माध्यम भएको स्मरण गराउँदै उनले चिनिया भाषाको बढी भन्दा बढी सदुपयोग गरेर आफ्नो व्यापार व्यवसाय बृद्धि गर्न सुझाए । समापन समारोहमा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार मेहरमान श्रेष्ठ, अर्का पूर्व अध्यक्ष एवं सल्लाहकार लक्ष्मीबहादुर भट्टराई, संघका द्वितीय उपाध्यक्ष लक्ष्मण सुबेदी, चिनिया प्रशिक्षक ली र संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...