पोखरामा क्यान इन्फोटेक शुरु

पोखरा, ११ फागुन / पोखरामा क्यान इन्फोटेक मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक–२०२० शुरु भएको हो । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आयोजित मेलाको गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे ।

११औं संस्करणको गण्डकी प्रदेश स्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ फागुन ११ देखि १५ गतेसम्म जारी रहनेछ । सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले इन्फोटेक आयोजना गरिएको क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए ।

‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको भण्डारीले बताए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, मेला अवधिभर आइसिटी कन्फेरेन्स, प्रदेश तथा जिल्ला स्तरका टाइपिङ प्रतियोगिता, आइ.सि.टि वक्तित्व प्रतियोगिता, विद्यालय स्तरीय जिल्ला तथा प्रदेश स्तरीय आइटी क्विज कन्टेस्ट आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

आइ.सि.टि.रोजगारी फर्म वितरण तथा तालिमको व्यवस्था, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी, रोबर्ट प्रर्दशर्नी एवं प्रतियोगिता तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण पनि गरिने उनले बताए ।

यस पटकको क्यान इन्फोटेकको बिशेषता मेड इन नेपाल एक्स्पोजर रहेको छ । यस अन्तर्गत प्रडक्ट र सलुसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गरिएको आयोजकको भनाई छ । क्यान महासंघले यसका निम्ती सार्वजनिक सूचना निकालेरै यससँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको सचिव सेवक क्षितिजले बताए । ‘सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुबिधाहरु र उत्कृष्टलाई नेशनल आइसिटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ,’ उनले भने । क्यान इन्फोटेक अवधि भरि विजनेस टक प्रोग्राम सञ्चालन गरिने जनाइएको छ ।

मेला अवधिभर शिक्षित बेरोजगारहरुलाई लक्षित गरेर आइसिटी क्षेत्रमा रोजगारी फर्म भर्ने व्यवस्था मिलाइएको छ । जस अन्र्तगत हेल्प डेक्स, ग्राफिक्स डिजाईन तथा हार्डवयर एण्ड नेटवर्क सम्व िउनले न्ध आवश्यक ज्ञान भएका तर रोजगारको अवसर नभएकाहरुलाई यो अवसर प्रदान गरिएको छ । पोखराको बजारमा प्राविधिक कर्मचारीहरुको अभाव रहेको कारणले यो अभियान अगाडि बढाइएको कार्यक्रम संयोजक घननाथ सापकोटाले बताए । जसमा आवेदकहरुलाई निःशुल्क तालिम प्रदान गरी क्यान महासंघ कास्कीमा आवद्ध रहेका संस्थाहरु तथा अन्य व्यावसायिक संस्थाहरुमा सिफारिस गरिनेछ ।

इन्फोटेकमा आइसिटीसंग सम्बन्धित एक सय वटा रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । इन्फोटेक मेलाबाट करिव ३५ लाख रुपैयाँ आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाएर ५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अपेक्षा छ । बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष आसिस गुरुङले जानकारी दिए ।

इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विकास र समृद्धिका लागि विज्ञान र प्रविधिलाई जोड दिनुपर्ने बताए । विकासका लागि विज्ञान र प्रविधीसँगै नैतिकता र अनुशासनलाईपनि जोड दिनुपर्ने उनले बताए ।

क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवर, नेपाली सेना विजयपुर व्यारेकका पृतनापति गोकुल भण्डारी, पोखरा उद्योग वाणिज्य संंघका महासचिव अर्जुन पोखरेल, ला–ग्राण्डी आइटी कलेजका प्रमुख किरण केसी, उद्घाटन तथा समापन कार्यक्रमका संयोजक तथा क्यानका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्याल, क्यान गण्डकी प्रदेश अध्यक्ष तुलसीराम पाण्डे, क्यान कास्कीका सचिव सेवक क्षितिज लगायतले बोलेका थिए । रोबर्टबाट व्यानर खोलेका पुष्प वृष्टि गरेर, रोबर्टबाट कैचीले रिबन काटेर र वायरलेस ड्रोन उडाएर इन्फोटेकको उद्घाटन गरिएको आइटी व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप संयोजक दीपकराज गिरीले जानकारी दिए ।

कमेन्टहरु
Loading...