ब्युटी पार्लर व्यवसायीलाई प्रमाणपत्र

पोखरा, १५ साउन / ब्युटी पार्लर एसोसिएसन पोखराले सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । एसोसिएसनले पोखरा, लेखनाथ, स्याङजा र वालिङका आजीवन तथा साधारण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरेको हो । एसोसियसनमा आवद्ध २ सय ५० भन्दा बढी सदस्यले सो अवसरमा प्रमाणपत्र प्राप्त गरे ।

प्रमाणपत्र प्रदान गर्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले ब्युटीपार्लर व्यवसायीहरु संस्थामा आवद्ध भई संस्थाको नीति नियमलाई अवलम्बन गरी नमुना संस्था बनाउनुपर्नेमा जोड दिइन् । ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर पेसाले योगदान दिएको छ,’ उनले भनिन्, ‘पोखरामा ब्युटीपार्लर व्यवसायको भविष्य राम्रो छ ।’

ब्युटी पार्लर एसोसिएसनका वरिष्ठ सल्लाहकार एवं संस्थापक चिनु गुरुङले एसोसिएसनमा आवद्ध भई व्यवसायलाई मर्यादित मनाएर अगाडि बढाउनुपर्ने खाँचो औंल्याइन् । ‘पोखरा महानगरपालिकाले सञ्चालन गरेको महिलासँग उपमेयर कार्यक्रममा ब्युटीपार्लर व्यवसायलाई समेत समेट्नुपर्ने देख्छु,’ उनले भनिन् ।

ब्युटीपार्लर एसोसिएसनका कानुनी सल्लाहकार अधिवक्ता गीता आचार्यले पछिल्लो समय ब्युटीपार्लर व्यवसायीलाई अरुले हेर्ने दृष्टिकोण फेरिएको सुनाइन् । ‘अब व्यवसायीहरु एकजुट भएर आफ्नो व्यवसायलाई अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले ब्युटीपार्लर व्यवसायको प्रवद्र्धन गर्न उद्योग वाणिज्य संघले सहयोग गर्ने बचन दिए ।

कास्की हस्तकला संघका सचिव सीता गुरुङले व्यावसायिक हकहितसँगै राज्यबाट पाउनुपर्ने सेवा सुविधा प्राप्त गर्न एसोसिएसनले पहलकदमी गर्नुपर्नेमा जोड दिइन् । ब्युटीपार्लर एसोसिएसन लेखनाथ कमिटीका अध्यक्ष माया विकले अझै पनि कताकति ब्युटीपार्लर व्यवसायलाई समाजले नकारात्मक ढंगले हेर्ने गरेको सुनाइन् । ‘व्यवसायीहरु एकजुट भएर आफ्नो पेसालाई मर्यादित बनाउँदै त्यस्ता नकारात्मक सोच भएकाहरुको सोच बदल्ने गरी काम गर्नुपर्छ,’ उनले भनिन् ।

गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङले महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर व्यवसायले पछिल्लो समय निकै ठूलो भूमिका खेलेको बताइन् । एसोसिएसनका संस्थापक अध्यक्ष कल्पना कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष सुष्मा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम सञ्चालन एसोसिएसनका सचिव वविता केसी कार्कीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...