विद्युत आपूर्ति नियमित गर्न माग गर्दै होटलकर्मी प्राधिकरणमा

पोखरा, २३ साउन /लोडसेडिङ हटेको भनिए पनि विना सूचना विद्युत आपूर्तिमा अवरोध सिर्जना हुन थालेपछि पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली बुधबार नेपाल विद्युत प्राधिकरण पोखरा शाखा पुगेर समस्या समाधानको पहल तत्काल अगाडि बढाउन माग गरेको छ ।

संघले पोखराको लेकसाइडलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग अघि सार्दै आइरहेको भए पनि सोही क्षेत्र लगायत समग्र पोखरामा विना सूचना विद्युत आपूर्तिमा गडबडी देखिन थालेपछि संघका अध्यक्ष विकल तुलाचन नेतृत्वको टोली प्राधिकरण पुगेको थियो ।

चौवीसै घण्टा विद्युत आपूर्ति हुनुपर्ने पर्यटकीय क्षेत्रमा बर्खा लागेपछि झन् विद्युत आपूर्ति नियमित नहुँदा व्यवसायी, पर्यटक र सर्वसाधरणले समेत शास्ती भोग्नु परेका कारण आफूहरु प्राधिकरण पुगेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । विद्युत आपूर्ति नहुँदा नहुँदा होटलको सेवा लागत बढ्ने र सुरक्षा लगायत अन्य पक्षमा समेत समस्या पर्ने विषय तुलाचनले प्राधिकरण समक्ष राखेका थिए ।

सो अवसरमा प्राधिकरणको पोखरा शाखाका प्रमुख सुरेन्द्रकुमार साहले पुरानो विद्युत प्रवाह प्रणाली र कतिपय अवस्थामा ट्रान्सफरमरले लोड नधान्दा विद्युत आपुर्तिमा गडबडी देखिएको बताए । पोखराको खासगरी खहरे क्षेत्रमा विद्युतको लोड व्यवस्थापन गर्न समस्या परिरहेको उनको भनाई थियो । लेकसाइड क्षेत्रमा ४ वटा ट्रान्सफरमर राख्ने योजना अन्तर्गत दुई ठाउँमा राखिसकिएको र खहरे लगायत अन्य दुई ठाउँमा छिटै राखेपछि समस्या हल हुने विश्वास उनले दिलाए ।

यसैगरी लेकसाइडलाई दुई वटा फिडरमा विभाजन गरी विद्युत आपूर्तिको व्यवस्था गर्न तयारी अगाडि बढाइएको पनि उनले सुनाए । खहरेमा कतिपय बासिन्दाले विद्युत ट्रान्सफरमर राख्दा वरपर चुम्बकीय तथा रेडियसनले असर गर्न सक्ने भन्दै विरोध जनाएको होटलकर्मीले बताएपछि त्यस्तो असर नपर्ने भनाई प्राधिकरणका प्रमुख शाहले राखेका थिए ।

उनले ठूला र धेरै विद्युत खपत गर्ने प्रतिष्ठानले आफ्नो छुट्टै ट्रान्सफरमर राखे विद्युत आपूर्ति थप भरपर्दो हुने सुझाव समेत राखे । पोखराको कुँडहरमा अहिले यस क्षेत्रकै सिंगो एक मात्र सबस्टेशन रहेको भन्दै उनले त्यहाँ केही समस्या उत्पन्न भए समग्र पोखरा अन्धकार हुने भन्दौ पोखराको विरौटामा अर्को सबस्टेशन स्थापनाका लागि आफूले केन्द्रमा आग्रह गरेको र पोखरेलीले समेत यसका लागि दवाव दिनुपर्ने सुझाव समेत उनले राखे ।

सो अवसरमा बोल्दै संघका सल्लाहकार एवं पूर्व अध्यक्ष गोविन्दराज पहारीले पर्यटकीय क्षेत्र निकै संवेदनशिल क्षेत्र भएको भन्दै विद्युत आपूर्ति नियमित गराउन आग्रह गरे । विद्युत आपूर्ति तलमाथि हुँदा थन्क्याइएका जेनेरेटर पनि पुनः संचालन गर्नुपर्ने अवस्था आएको भनाई पहारीको थियो । विद्युत आपूर्ति नहुँदा सुरक्षा चुनौति समेत बढ्ने उनको भनाई थियो । संघका महासचिव गणेशराज पहारीले खहरे क्षेत्रमा नयाँ ट्रान्सफरमर राख्नका लागि आफूहरु जस्तोसुकै समन्वय गर्न तयार रहेको र यसमा प्राधिकरणको पनि सहयोग आबश्यक रहेको भनाई राखे ।

कमेन्टहरु
Loading...