बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने

काठमाडौं/ पोखराबाट आन्तरिक उठानमा सफल भएपछि निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुनासाथ त्यही विमानस्थललाई आधार गरी तीन विदेशी गन्तव्यका लागि उडान सञ्चालन गर्ने तयारी बुद्धले तीव्र गतिले अगाडि बढाएको छ । यसका लागि बुद्धले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग छलफल गरेर उपयुक्त जहाजसमेत छनोट गरिसकेको छ । नागरीक दैनिकमा खबर छ ।

‘आगामी चार वर्षभित्र पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने गरी काम गरिरहेका छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नागरिकसँग भने, ‘हाम्रो अनुमानअनुसार सरकारबाट सहयोग भयो भने अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ ।’ उनका अनुसार दसैंलगत्तै एयरबसका वरिष्ठ बिक्री निर्देशक शील शुक्लसहितका उच्च प्राविधिक टोलीसँग भएको छलफलपछि उपयुक्त जहाजसमेत छनोट गरिएको छ । पोखराबाट एयरबसका ‘ए३२० फेमिली’ सिरिजका जहाजबाट उडान गर्न उपयुक्त हुने देखिएको छ । ए३२० फेमिलीमा विभिन्न सिरिजका जहाज पर्छन् । तीमध्ये एउटा सिरिजको जहाज छनोट गरिने छ ।

सन् २०२१ अगस्ट १ देखि तीनथान एयरबस जहाजबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने उनले जानकारी दिए । ‘पहिलो चरणमा भारतको नयाँदिल्ली, चीनको ग्वाङ्झाउ र थाइल्यान्डको बैंककका लागि उडान गर्ने योजना छ,’ बस्नेतले भने, ‘अन्तर्राष्ट्रिय उडान गर्न कति लगानी आवश्यक पर्छ भन्ने अझै यकिन गरिसकेका छैनौं । हाम्रो व्यापारिक योजना तयार हुने क्रममा छ ।’

बुद्धले एयरबससँग छलफल गरे पनि अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग समेत उपयुक्त छलफल गर्ने जनाएको छ । आगामी नोभेम्बर दोस्रो साता बोइङका उच्च अधिकारी सम्मिलित एक टोली बुद्धसँग छलफल गर्न काठमाडौं आउने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । बोइङका ‘बि७३७ फेमिली’ सिरिजका जहाज उपयुक्त हुने उनको भनाइ छ ।

पोखरामा नयाँ विमानस्थल निर्माणको काम हालको गतिमा चलिरहे सन् २०२१ जुलाई १० बाट सञ्चालनमा आउने निर्माण कम्पनीको भनाइ छ । त्यसैलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय उडानको तयारीका काम अगाडि बढाइएको बस्नेतले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान सुरु गर्नुअघि व्यापारिक योजना, द्विपक्षीय हवाई सम्बन्ध, भैरहवा हवाई प्रवेश विन्दु, पाँच वर्षसम्म कर छुट, मूल्य अभिवृद्धि कर (भ्याट) छुट, भन्सार महसुल छुटलगायत विषयमा सरकारसँग वृहत छलफल गरिने छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडान सुरु गरेको १० वर्षभित्र २० थान ए३२० फेमिली सिरिजका जहाजबाट विभिन्न गन्तव्यमा उडान गरिने बस्नेतले बताए । ती जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई, कोलकाता, बैंगलोर, लखनऊसहित सबै प्रमुख सहर, चीनका कुन्मिङ, ग्वाङ्झाउ, चेङ्दु, कतारको दोहा, युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबई, हङकङ, थाइल्यान्डको बैंकक, मलेसियाको क्वालालम्पुर, बंगलादेशको ढाका, श्रीलंकाको कोलम्बोलगायत गन्तव्यमा उडान सञ्चालन गर्ने योजना बस्नेतले सुनाए ।

हाल वार्षिक १० देखि १५ लाख यात्रु बोकिरहेको बुद्धले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि २० लाख यात्रु बोक्ने लक्ष्य लिएको छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सफल भएपछि काठमाडौंबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने योजना कम्पनीले बनाएको छ । यसैबीच बुधबारबाट स्थापनाको २० वर्ष पूरा गरेको बुद्धले ७२ सिट क्षमतायुक्त थप दुईथान ‘एटिआर७२–५००’ सिरिजका जहाज ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको पनि जानकारी दिएको छ । २०१८ जनवरी दोस्रो साता एउटा र त्यही वर्ष जुन महिनाभित्र अर्को जहाज ल्याइसक्ने बुद्धका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय उडानको तयारी तीव्र भए पनि आन्तरिक उडानको बजार हिस्सालाई पनि हामी गुम्न दिँदैनौं,’ जोशील भने, ‘त्यही भएर आन्तरिकतर्फ पनि जहाज थप्ने काम भइरहन्छ ।’ दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् । बुद्धले उडान सुरु गरेर २०७२ असोजसम्ममा स्वदेशी तथा विदेशी गरी ७८ लाख यात्रुलाई गन्तव्य पु¥याएको थियो ।

कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर-राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पु¥याइरहेको छ । बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका चारवटा ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । यी नौ जहाजको मूल्य ६ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ । त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन् ।

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब चार दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन ।

यसले दैनिक ४० भन्दा बढी उडान गरिरहेको छ । नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाइसकेको छ ।
बुद्धले हालै ‘इन्टरनेसनल सेफ्टी अडिट’ पूरा गरेको छ । ९ सय ५८ वटा मापदण्डअनुसार अडिट पूरा भएको कम्पनीले जनाएको छ । ‘उडान सुरक्षामा हामी कति गम्भीर छौं र कसरी काम गर्छौं भन्ने यसखालको अडिट पूरा हुनु भनेको नेपाली उड्डयन क्षेत्रकै लागि महत्वपूर्ण उपलब्धी हो,’ प्रबन्ध निर्देशक बस्नेतले भने ।

कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ । उक्त ह्यांगरमा आफ्ना जहाजमात्र नभई बंगलादेशको नोभो एयरका एटिआर जहाज र त्यहीँकै हेल्लो एयरका बिचक्राफ्ट जहाज पनि मर्मत गरिरहेको छ । विगतमा भुटानको ड्रुक एयरको एटिआर जहाज पनि मर्मत गरेको थियो ।

कमेन्टहरु
Loading...