बेगनास फिस फेस्टिबलमा एक करोडको कारोबार, १२ हजार केजी माछा विक्री

लेखनाथ, २१ जेठ /लेखनाथको बेगनासतालमा जारी पाँचौ संस्करणको बेगनास फिस फेस्टिवल एक करोड रुपैयाको कारोबार गर्दै सोमबार समापन भएको छ । फेस्टिबलको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सीले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

उनले पुरानो लेखनाथमा प्रसस्त जलासय रहेकाले यस क्षेत्रलाई माछा उत्पादनको केन्द्रका रुपमा विकास गर्नु पर्नेमा जोड दिएका हुन । प्रमुख जि.सी ले कास्की जिल्लालाई मात्र नभई गण्डकी प्रदेशमै माछामा आत्मनिर्भर हुने गरी व्यवसायीक ढंगले अघि बढ्न कृषकहरुलाई आग्रह गरे ।

प्रमुख जि.सि ले बेगनास तालको मापदण्ड क्लियर गरी पर्यटन प्रवद्र्धनका गतिविधि संचालन गरेर आर्थिक हिसावले सृद्धढ बनाउने अभियानमा महानगर लागेको उल्लेख गरे । उनले बेगनास तालको किनारमा फुटट्रयाक निर्माणको कामलाई महानगरले अघि बढाएको समेत त्यस अवसरमा बताए ।

कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान वहादुर कार्कीले व्यवसायिक सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दै, घरेलु हिंसा रोक्नका लागि परिवारको मुख्य भूमिका रहने बताए । प्रहरी उपरिक्षक कार्कीले आफुले प्रहरी प्रमुखका रुपमा जिम्मेवारी सम्हालेको केही दिन मात्र भएको उल्लेख गर्दै सवै बस्तुस्थिति बुझेर अघि बढ्ने बताए ।

कार्यक्रममा नवआगन्तुक प्रहरी प्रमुख कार्की, बृहत बेगनास सरसफाई कार्यक्रमका अभियन्ता रामवहादुर रानाभाट, होटल तथा रेष्टुरेष्ट एशोसियशन लेखनाथका पूर्व अध्यक्ष किरण खनाल, दुर्गा प्रसाद अधिकारी, दामोदर भक्त थापा र हस्पीटालिटी कन्टेस्ट २०१९ का विजेता अनिक अधिकारीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक कृष्ण प्रसाद तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्रागंत बराल, नेपाली काग्रेसका प्रतिनिधि धु्रव अधिकारी, नेकपाका प्रतिनिधि विन्दु परियार, पशु सेवा कार्यालय गण्डकीका प्रतिनिधि ठगेन्द्र प्रसाद अर्याल, मत्स्य व्यवसाय समिति कास्कीका अध्यक्ष दयाराम तिवारी, बेगनास युवा क्लवका अध्यक्ष राम वहादुर रानाभाट, बेगनासताल महिला समूहका अध्यक्ष दुर्गा अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

फेस्टिवलमा १२ हजार किलो माछा विक्री भएको प्रचार प्रसार समितिका संयोजक दामोदर भक्त थापाले जानकारी दिए । उनले प्रतिकुल मौसमका वावजुद पनि फेस्टिवल सफल भएको बताउँदै, आगामी बर्ष क्यालेण्डरमै समावेश गरी अनुकुल मौसममा फेस्टिवलको आयोजना गरिने उल्लेख गरे ।

कमेन्टहरु
Loading...