बार्दलीको शेयर सदस्यलाई डिस्काउण्ट कार्ड

पोखरा, २७ चैत /बार्दली बचत तथा ऋण सहकारी संस्थाले नयाँ वर्ष अवसरमा शेयर सदस्यलाई डिस्कोउष्ट कार्ड उपलब्ध गराउने भएको छ ।
नयाँ वर्ष अवसरमा संस्थाले पोखरामा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका अध्यक्ष रेशम सापकोटाले आगामी नयाँ वर्षदेखि पोखराका विभिन्न डिपार्टमेन्टल स्टोर्स तथा हस्पिटलमा शेयर सदस्यका लागि डिस्काउष्ट कार्ड उपलब्ध गराइने जानकारी दिएका हुन् ।

उनले निकट भविष्यमै संस्थाले रेमिट्यान्ससमेत सञ्चालन गर्नेसमेत बताए । चिप्लेढुंगामा कार्यालय रहेको उक्त संस्थामा हाल चार सय ९० शेयर सदस्य छन् । कार्यक्रममा प्रमुख अतिथि कास्की जिल्ला सहकारी संघका अध्यक्ष सुदीप ढकालले बार्दलीले नयाँ वर्ष अवसरमा प्रकाशन गरेको क्यालेण्डर विमोचन गरे । क्यालेण्डरमा वार्षिकरुपमा संस्थाले गर्ने विविध कार्यक्रम समेत उल्लेख छ । संघ अध्यक्ष ढकालले सहकारीको मेरुदण्ड बचत संकलन भएको भन्दै थोरै भए पनि लामो समयसम्म बचतमा जोड दिए ।

कार्यक्रममा नेफ्स्कुन कास्कीका प्रबन्धक दिनेश भण्डारी, संस्थाका सल्लाहकार एवं नेकपा माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइराला, सेयर सदस्य गोमादेवी पराजुली लगायतले नयाँ बर्षको शुभकामना मन्तव्य दिएका थिए।

संस्थाका अध्यक्ष रेशम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष वीरबहादुर कार्की र सञ्चालन अपरेसन इञ्चार्ज लेखुराम खातीले गरेका थिए । संस्थाले तीन करोड ४० लाख शेयर पुँजी संकलन गर्नुका साथै चार करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाइएको छ ।

कमेन्टहरु
Loading...