आलु महोत्सवका ८० प्रतिशत स्टल बुकिङ

हेमजा, १५ चैत /हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि बैशाख १ गतेसम्म हुने दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ अन्र्तगत बिहीवारसम्म ८० प्रतिशत स्टल बुकिङ भएका छन् । महोत्सवको समायावधि नजिक आइरहदाँ तयारी तीब्र पारिएको छ ।

महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने मेला मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए ।

बिहीवारसम्ममा स्टल निर्माणको काम ६० प्रतिशत पुरा भएको छ भने पशुपति शर्मा, रामजी खाँड, सम्झना भण्डारी, राजु परियार लगायतका कलाकारका प्रस्तुतीहरु पनि रहने सांस्कृतिक उपसमिति संयोजक सुर्यबहादुर कुँवरले जानकारी दिए ।त्यस्तै महोत्सवको सफलताका लागि स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको अर्थ संकलन समितिका संयोजक मदन थापाले जनाए ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ ।जसका आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

कमेन्टहरु
Loading...