पोखरामा नवौ हेमजा आलु महोत्सव सुरु

सागर राज तिमिल्सिना
पोखरा, २२ चैत/आलु गाँउका रुपमा परिचित पोखराको हेमजामा बिहीबार देखि नवौ हेमजा आलु महोत्सवको सुरु भएको छ । महोत्सवको प्रदेश ४ का मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गरे । सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सव चैत्र ३० गते सम्म सञ्चालन हुने छ ।

महोत्सव उद्घाटन अघि हमेजाको मिलनचोकबाट विभिन्न झाँकी सहित महोत्सव स्थल पुगेको थियो । महोत्सवमा आलुको मुल्य ३३ रुपैया कायम गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्कील जानकारी दिए । विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचार प्रसारका गर्ने उद्देश्यले महोत्वको आयोजना गरिएको कार्कीले जानकारी दिए ।

महोत्सवमा आलुका परिकार स्टल, व्यवसायी स्टल, कृषी प्रविधि प्रदर्शनी, प्राथमिक उपचार केन्द्र र सुचना केन्द्रका स्टलहरु रहेका छन् । महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति रहने छ ।

हेमजामा करिब चार सय हेक्टर क्षेत्रफलमा आलु खेती हुदै आएको छ । बार्षिक ६ हजार मेट्रिक टन आलु उत्पादन हुदै आएको छ । आलुबाट मात्रै बार्षिक करिब १६ करोडको आलु उत्पादन हुदै आएको छ । उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले प्रदेश सरकार बजेट निर्माणमा लागेको बताए । उनले १ अर्व २ करोडका बजेट छिटै ल्याउने बताए । उनले प्रदेशका समृद्धिका लागि मेला महोत्सव सहयोगी हुने बताए ।

कमेन्टहरु
Loading...