आठौ पोखरा महोत्सवबाट ३८ लाख ६९ हजार बचत, चिडियाखाना निर्माणका लागि १० लाख प्रदान

पोखरा, ८ वैशाख / आठौं पोखरा महोत्सवमा ३८ लाख ६९ हजार ७ सय ४९ रुपैया बचत भएको छ । गत पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा युनाइटेड क्लवद्धारा सञ्चालित आठौ पोखरा महोत्सवबाट ३८ लाख ६९ हजार ७ सय ४९ रुपैया वचत भएको शुक्रबार सम्पन्न आठौ वार्षिकोत्सवमा जानकारी दिइयो ।

वार्षिकोत्सव समारोहमा क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले आठौ संस्करणको पोखरा महोत्सवमा कुल आम्दानी नगद १ करोड २४ लाख ८ हजार ७ सय ५० र खर्च ९५ लाख ३९ हजार बाट वचत ३८ लाख ६९ हजार ७ सय ४९ रुपैया भएको वताएका हुन । वार्षिकोत्सवको अवसरमा क्लवले पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणधिन चिडियाखाना निर्माणका लागी १० लाख रुपैया प्रदान गरेको छ ।

शनिवार पोखरामा सम्पन्न आठौ वर्षिकोत्सव समारोहमा प्रदेश नम्बर ४ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बिकाश लम्सालको रोहबरमा क्लवका अध्यक्ष सुक बहादुर गुरुङ र कोषाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेललाई १० लाखको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै मन्त्री लम्सालले पोखरा लेखनाथको पचभैया क्षेत्रमा निर्माण हुने अन्तराष्ट्रिय स्तरको चिडियाखानाका लागी प्रदेश सरकारले चालु आर्थिक वर्ष भित्रमा १ करोड रकम बिनियोजन गर्ने वताए । पोखरामा अन्तराष्ट्रिय पर्यटनको केन्द्र बिन्दु भएकाले चिडियाखाना प्रदेश नम्बर ४ को मात्र नभइ नेपालकै गहना हुने वताउदै चालु आर्थिक वर्षको असार मसान्त सम्ममा १ करोड रुपैया विनियोजन गरि यो वर्ष भित्र पचभैया क्षेत्रमा रहेको वन्यजन्तु उद्यान क्षेत्रमा रहेको वन्यजन्तुहरुलाई खुल्ला रुपमा छोड्ने वातावरण बनाउनका लागी आफ्नो मन्त्रालयले लागेर काम गर्ने समेत वताए ।

सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष तथा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवको सपना लाई पछिल्लो समय सरकारले नजिकबाट हेर्न थालेको वताउदै प्रदेश नम्बर चार मात्र नभइ नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्नका लागी आफु लागी पर्ने वताए । क्लव र स्थानियको सहयोगमा चिडियाखाना निर्माण क्षेत्रमा बन्यजन्तु उद्यान केन्द्र निर्माण गरी चार नम्बर प्रदेशमा घाइते अवस्थामा भेटिएका जिव जन्तुहरुको उपचार गराइरहेको र आगामी दिनमा सरकारले सहयोग गरेको खण्डमा पक्कैपनि ती जिवजनावरहरुलाई खुल्ला रुपमा छाडिने र पर्यटकका लागी खुल्ला गरिने उनको भनाइ रहेको थियो ।

त्यस्तै जिल्ला वन कार्यालय कास्कीका सहायक अधिकृत नविन विश्वकर्माले जिल्ला वन कार्यालयले पोखरा लेखनाथको पचभैया क्षेत्रमा निर्माणधिन अवस्थामा रहेको चिडियाखाना निर्माणका लागी आफ्नो कार्यालयको तर्फबाट निरन्तर सहयोग भइरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सल्लाहकार सम्मर बहादुर श्रेष्ठ, टोल बिकास संस्था नगर महिला समितीका अध्यक्ष पवित्रादेवी गुरुङ, पोखरा ट्रेड वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, बिहानी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्मा लगायतले वोलेका थिएभने ।

क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लवका महासचिव राजु श्रेष्ठले गरेका थिए । उक्त अवसरमा क्लवका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण, सप्ताहब्यापी कार्यक्रमका संयोजकलाई मायाको चिनो वितरणका सादै देउसी भैलो कार्यक्रममा सहयोग गर्ने बहिनीहरुलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...