पोखरा फेवा नव वर्ष महोत्सव सुरु, पर्यटकलाई छुटको व्यवस्था

पोखरा, २९ चैत/ झिलिमिली झाँकी र आमा समूहको ¥यालीसँगै पोखरामा चौधौं फेवा नव वर्ष महोत्सव २०७४ सुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको महोत्सव आगामी वैशाख २ गतेसम्म चल्ने छ ।

लेकसाइडको खहरेचोकबाट झाँकीसहितको ¥याली तीन किलोमिटर दक्षिणको कोमागाने पार्क पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो । होटल संघ नेपालकी वरिष्ठ उपाध्यक्ष श्रृजना राणाले महोत्सवको उद्घाटन गरिन् । नेपाली संस्कृति तथा फेवा तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।

विभिन्न विषम परिस्थितिमा पनि संघले महोत्सवलाई निरन्तरता दिंदै आएको बताउँदै उनले महोत्सवमा सहभागिताका लागि सबैसँग आव्हान गरे । महोत्सवमा खानाका पन्ध्र तथा अन्य व्यापारिक गरी कूल ६० स्टल राखिएको छ । उनल बाह्य तथा आन्तरिक पर्यटकालाई छुटको प्याकेज समेत ल्याएको बताए । स्थानीय र पर्यटक गरी कूल एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको संघका महासचिव एवं प्रचारप्रशार उपसमितिका संयोजक गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा डुंगा दौड, पर्यटक दौड, एकल नृत्य र गीत संगीतका कार्यक्रम समेटिएको छ ।

कार्यक्रममा राणाले फेवा महोत्सवले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको अभियानमा होटल संघ नेपाल पश्चिमाञ्चल होटल संघ पोखरासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताइन् । अहिले नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशत वरपर रहेको बताउँदै उनले होटलको निर्माण दर बढ्दै जाँदा पर्यटक नपुग्ने हो कि भनी चिन्ता व्यक्त गरिन् । सन् २०२० सम्म चार हजार नयाँ कोठा थपिने तर सो अनुसार पर्यटक बढाउन भारत र चीन जस्ता छिमेकमा प्रवद्र्धनका कार्यक्रम लैजानुपर्ने आबश्यकता उनले औंल्याइन् ।

उद्घाटन कार्यक्रममा होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुली राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासुदेव त्रिपाठी, नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख उदय भट्टराई, पीटीआरसीका संयोजक गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, वडा नागरिक मञ्च समन्वय समिति बैदामकी संयोजक विष्णु केसी र होटल संघ पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदीले महोत्सव सफलताको कामना गरेका थिए । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरेको छ ।

महोत्सवको अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर संघ प्रथम, नेवा कच खल बैदाम दोश्रो र किराँत सेवा समाज तेश्रो भए । झाँकीमा २६ समूह सहभागी थिए । यसैगरी आमा समूहको प्रतियोगितामा बंगलादी आमा समूह, खहरे आमा समूह र क्षत्री महिला समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भए । प्रमुख अतिथि राणाले विजयी समूहहरुलाई पुरस्कार प्रदान गरिन् । उनले होटल संघ पोखराको टेवल क्यालेण्डर पनि विमोचन गरिन् ।

कमेन्टहरु
Loading...