पोखरा महानगरले बनायो सहकारीहरुको प्रोफाइल

पोखरा, २३ मंसिर / पोखरा महानगरपालिकाले पोखरामा कार्यक्षेत्र भएका सहकारीहरुको प्रोफाइल तयार गरी सार्वजनिक गरेको छ । सहकारीको आधारभूत जानकारी समेटिएको प्रोफाइलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार विमोचन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले सहकारीलाई व्यवस्थित गर्न महानगरले पहिलो प्रयत्न स्वरुप प्रोफाइल तयार गरेको बताए । उनले सहकारीमा देखिएका विकृति, विसंगतिलाई न्यूनीकरण गर्दै व्यवस्थित बनाउन एकै ठाउँबाट सहकारीको अनुमगन गर्ने पद्धति निर्माण गर्न महानगर लागि परेको बताए । आर्थिक समृद्धि हासिल गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रमुख जिसीले सहकारीले उत्पादनशील र उद्यममा लगानी गर्नुपर्ने बताए ।

सहकारीको मात्र नभई अन्य क्षेत्रको पनि प्रोफाइल बनाउने योजना महानगरले बनाएको उनले बताए । ‘गैर सरकारी संस्थाले पोखरामै करोडौं खर्च गरेर काम गरेको सुनिन्छ,’ प्रमुख जिसीले भने, ‘तर, कति गैर सरकारी संस्थाले पोखरामा काम गरेका छन्, बजेट कति हो, त्यो थाहा पाउन सकिएको छैन, त्यस बारेमा पनि महानगरले अध्ययन गर्ने योजना बनाएको छ ।’ गैरसरकारी संस्थाको काम र बजेटलाई पारदर्शी बनाउनेतर्फ महानगरले कदम चाल्ने उनको भनाइ छ ।

कार्यक्रममा पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी दर्ता अधिकारी गंगालाल सुवेदीले सहकारीको नाम, ठेगाना, सञ्चालक समितिको अध्यक्षको नाम, शेयरपुँजी लगायतको आधारभूत जानकारी प्रोफाइलमा समेटिएको जानकारी दिए । उनका अनुसार विषयगत सहकारी र वडागत रुपमै सहकारीको विवरण यसमा राखिएको छ ।

पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले ३ सय ४३ वटा सहकारीको विवरण प्रोफाइलनमा समेटिएको बताए । उनका अनुसार गत असारसम्म दर्ता भएका सहकारीको विवरण प्रोफाइलनमा समेटिएको हो । अधिकारीले पोखरा कार्य क्षेत्र भएका सहकारीको संख्या ३ सय ५३ भएको जानकारी दिए । सहकारी दर्ताको अधिकार स्थानीय तहमा आएपछि महानगरमा ४१ वटा सहकारी दर्ता भएका छन् ।

अध्यक्ष अधिकारीले प्रोफाइलनमा समेटिएको विवरण संक्षिप्त भएकाले आगामी दिनमा यसलाई परिमार्जित गरिने बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको प्रोफाइलले सहकारीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताए । प्रोफाइल तयार पारेकोमा महानगरलाई धन्यवाद दिँदै उनले महानगर र जिल्ला सहकारी संघबीच समन्वय आवश्यक भएको बताए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समृद्धिको यात्रालाई पूरा गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । उनले सहकारीले व्यापार, व्यवसाय र नाफामा भन्दा पनि उत्पादन र उद्यमलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले पनि शाखाले गर्दै आएका कामको बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...